
नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएपछि मोरङका सीमावर्ती नाकाहरूमा आवतजावत गर्ने नागरिकलाई नागरिकता वा अन्य आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ । विराटनगरको रानी नाकासहित जिल्लाका विभिन्न सीमा बिन्दुमा सुरक्षा निगरानी कडा पारिएको हो ।
सुरक्षाकर्मीहरूले सीमाक्षेत्रमा चेकजाँच तीव्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भारतबाट रेलमार्फत ठूलो संख्यामा मानिस नेपाल प्रवेश गर्ने भएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निगरानी बढाइएको बताए ।
उनका अनुसार घुसपैठ, आपराधिक गतिविधि तथा लागूऔषध कारोबार नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था गरिएको हो । लागूऔषध प्रयोगकर्ताहरू भारततर्फ गएर सेवन गरी पुनः नेपाल फर्किने क्रम बढेकाले पनि सीमा क्षेत्रमा कडाइ गरिएको प्रशासनको भनाइ छ ।

सुरक्षा स्रोतका अनुसार पश्चिम बंगालमा राजनीतिक गतिविधि परिवर्तन भएसँगै त्यहाँ गैरकानुनी रूपमा बसोबास गरिरहेका रोहिंग्या मुस्लिमहरू नेपाल प्रवेश गर्न सक्ने आशंकामा पनि निगरानी बढाइएको हो । यद्यपि, यस विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छैन ।
त्यसैगरी विभिन्न आन्दोलनका क्रममा फरार रहेका व्यक्तिहरू भारतबाट नेपाल प्रवेश गर्न सक्ने आशंकाले जोगबनी नाकामा समेत विशेष कडाइ गरिएको सुरक्षाकर्मीहरूले बताएका छन् । प्रहरी प्रशासनले सीमा क्षेत्रमा गरिएको कडाइबाट गैरकानुनी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।
