
बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने अभियानलाई तीव्र बनाएको छ । दोस्रो दिन आइतबारसम्म नगर विकास समितिको स्वामित्वमा रहेको कोहलपुर–११ क्षेत्रका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शनिबारदेखि कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रको अतिक्रमण हटाउन थालेको हो । क्रिकेट मैदान आसपास वर्षौंदेखि निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाइँदै छन् । पहिलो दिन ४० घरटहरा हटाइएको थियो ।
नगर प्रहरी प्रमुख वीरबहादुर थापाले पूर्वसूचना र समयसीमा दिएरै अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार वैशाख १६ गते १० दिने अल्टिमेटम जारी गरिएको थियो । “अधिकांश स्थानीयले आफैँ सामान सारिरहेका छन्, पूर्ण रूपमा खाली भएका संरचना मात्रै हटाइएको हो,” उनले भने ।

अभियानमा स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ । विस्थापित परिवारका लागि नगरपालिकाले होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । हाल ५४ परिवारका २०८ जना त्यहाँ बसिरहेका छन् ।
नगरपालिकाले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान प्रक्रिया पनि अघि बढाएको जनाएको छ । गत वर्ष उक्त क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए ।
