कृष्णनगरमा निःशुल्क बहु–विशेषज्ञ स्वास्थ्य सेवा शिविर हुँदै 

0
Quantam abroad studies

कपिलवस्तु, जेठ २८

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै यस वर्ष पनि बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विगतका शिविरहरूबाट उत्साहजनक उपलब्धि हासिल भएपछि नगरपालिकाले यस वर्ष सेवाको दायरा अझ फराकिलो बनाउँदै शिविर सञ्चालन गर्न लागेको हो ।

यस वर्ष आयोजना हुने शिविरमा मुटु र मिर्गौला रोग विशेषज्ञ सेवाका साथै नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, मानसिक रोग र रेडियोलोजी सहितका बहु–विशेषज्ञ सेवाहरू समावेश गरिएको कृष्णनगर नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले सेभ द हर्ट र काठमाडौंस्थित शिक्षण अस्पताल (टीचिङ हस्पिटल) का विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा मुटु तथा मिर्गौला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट कुल १ हजार ९ सय ८८ जना नगरवासीले प्रत्यक्ष स्वास्थ्य सेवा पाएका थिए ।

sahani furniture udyog

विगतको शिविरमा ३ सय ९६ जनाको इको र ७ सय २७ जनाको ईसीजी निःशुल्क गरिएको थियो । त्यस क्रममा ८७ जनामा मुटुसम्बन्धी समस्या पहिचान भएकोमा थप उपचारका लागि २५ जनालाई काठमाडौंका विशेषज्ञ अस्पतालहरूमा रिफर गरिएको नगरपालिकाको तथ्याङ्क छ । 

नगरपालिकाका अनुसार विगतको शिविरको सबैभन्दा ठूलो उपलब्धि ८ वर्षमुनिका ३ जना जन्मजात मुटुरोग भएका बालबालिकाको पहिचान हुनु र उनीहरूको काठमाडौंमा निःशुल्क मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गराउन सहजीकरण गरिनु रहेको थियो ।

विगतको सफल अनुभव र नागरिकको बढ्दो मागलाई मध्यनजर गर्दै यस वर्ष शिविरमा थप विशेषज्ञ सेवाहरू थपिएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । मेयर शाहले भन्नुभयो, “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । समयमै रोगको पहिचान र उपचार हुन सकोस् भनी हामीले यसपटक थप विधाका विशेषज्ञ डाक्टरहरू बोलाएका छौँ । सम्पूर्ण नगरवासी तथा आसपासका क्षेत्रका नागरिकहरूलाई शिविरमा सहभागी भई यो निःशुल्क सेवाको भरपूर लाभ लिन म हार्दिक अपिल गर्दछु ।“

विशेषज्ञ स्वास्थ्य सेवाका लागि बुटवल वा काठमाडौं धाउनुपर्ने बाध्यता रहेका स्थानीयका लागि घरदैलोमै हुन लागेको यो शिविर निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.