
वैदेशिक रोजगारीका लागि अमेरिका र सर्बिया पठाउने प्रलोभन देखाई ठगी गर्ने दुई जना काठमाण्डौमा पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूमा नुवाकोट विदुर नगरपालिका–३ की ३६ वर्षीया पुण्यवती जोशी र सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ का ३५ वर्षीय रमेश खड्का रहेका छन्। जोशी काठमाण्डौको कलङ्कीमा बस्दै आएकी थिइन् भने खड्का नयाँ बानेश्वरमा बसोबास गर्दै आएका थिए।

जोशीले एक व्यक्तिलाई अमेरिका पठाउने नाममा दुई लाख १७ हजार रुपैयाँ ठगी गरेको र खड्काले सर्बिया पठाइदिने भन्दै अर्को व्यक्तिबाट चार लाख रुपैयाँ असुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूलाई काठमाण्डौबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। अनुसन्धान अधिकारीहरूले वैदेशिक रोजगारीको प्रलोभनमा ठगीबाट बच्न सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
