
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा पनि उडान सञ्चालन गर्न सक्ने उपकरण जडान भएको दाबी गरेका छन्। शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु कार्यक्रममा सहभागी हुँदै उनले अब कुहिरोका कारण उडानमा अवरोध नहुने बताएका हुन्।
“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनेक आलोचना सामना गर्यौँ। तर अहिले विमानस्थल सञ्चालनको चरणमा आइपुगेको छ। केहीले भन्छन्, चल्दैन। तर हामी चलाएर देखाउँछौँ,” पौडेलले भने।
उनले राम्रो कामको प्रशंसा गर्ने संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै भने, “समर्थनमा लेख्न सकिँदैन भने विरोधमा पनि लेख्न बन्द गरौँ। कमी कमजोरी औँल्याउनुस्, तर राम्रा कामलाई पनि नोटिस गर्न सिकौँ।”

पौडेलले सरकारको कमजोरी औँल्याउनु जरुरी भए पनि राम्रा कार्यहरूलाई पनि सबैले साथ दिनुपर्ने उल्लेख गरे। कार्यक्रमका क्रममा उनले देशका महत्वपूर्ण पूर्वाधार विकास योजनाहरू अघि बढाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जडानसँगै नेपालको हवाई सेवा थप सक्षम भएको उनले बताए।
