
काठमाडौँ — भारतको कश्मीर राज्य अन्तर्गत पहलगाममा वैशाख ११ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएपछि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गहिरो दुःख प्रकट गर्दै पाकिस्तानविरुद्ध कडा विरोध जनाएको छ।
अभियानका प्रतिनिधिहरूले नेपालस्थित पाकिस्तानी दूतावासमा पुगेर राजदूतलाई औपचारिक ज्ञापनपत्र बुझाउँदै घटनाको घोर भर्त्सना गरेका हुन्। उनीहरूले धार्मिक आस्थाका कारण हिन्दूहरूलाई लक्षित गरी हत्या गरिएको दाबी गर्दै यस्तो आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र सहिष्णुता गम्भीर संकटमा पार्ने चेतावनी दिएका छन्।
ज्ञापनपत्रमा पाकिस्तान समर्थित आतंकवादी संगठनहरूले बारम्बार हिन्दू समुदायलाई लक्ष्य बनाइरहेको उल्लेख गर्दै पछिल्लो घटनामा नेपाली पर्यटकको मृत्यु हुनु अत्यन्त पीडादायक र निन्दनीय भएको उल्लेख गरिएको छ।

यसै क्रममा, अभियानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव १३७३ अनुसार घटनालाई अन्तर्राष्ट्रिय आतंकवादको रूपमा मूल्यांकन गरिनुपर्ने माग समेत अघि सारेको छ।
नेपाली नागरिकको निधनले सम्पूर्ण देशमा शोक र आक्रोश फैलिएको जनाउँदै ज्ञापनपत्रमा, घटनापूर्व पाकिस्तान सेनापतिको हिन्दूविरोधी अभिव्यक्तिसँग यसको सम्बन्ध हुनसक्ने आशंका व्यक्त गरिएको छ। साथै, भारत सरकारसँग सहकार्य गर्दै आक्रमणकारीहरूलाई कारबाही गर्न पाकिस्तानमाथि दबाब सिर्जना गर्न पनि आग्रह गरिएको छ।
अन्त्यमा, अभियानले संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानमा सक्रिय आतङ्ककारी संगठनविरुद्ध कठोर कदम चाल्न अपील गरेको छ।
