
कपिलवस्तु, जेष्ठ ४
जिल्लाको कपिलवस्तु नगरपालिकामा आठौं नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको भव्य शुभारम्भ भएको छ। तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित उद्घाटन सत्रमा वडा नं. १ र वडा नं. १२ का टिमबीच पहिलो खेल सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यले मेयर कपको ब्यानरसहित बेलुन उडाएर प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै सांसद आचार्यले बुद्ध पद्म स्कुलको खेल मैदानको स्तरीकरणका लागि आफूले एक करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको र त्यसअनुसार काम अघि बढिरहेको जानकारी दिए। साथै, थप तीन करोड रुपैयाँको बजेटसमेत पारित गराएको उल्लेख गर्दै उनले अब मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने दाबी गरे। उनले स्थानीय खेलाडीहरूले राम्रो वातावरण, सेवा र सुविधाहरू पाए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न सक्ने बताए।

सोही अवसरमा कार्यक्रमको अध्यक्षता गरिरहेका नगर प्रमुख सुदीप पौडेलले स्थानीय खेलाडीहरूले निरन्तर अभ्यास र लगनशीलता जारी राखे नगर, जिल्ला हुँदै प्रदेश र राष्ट्रको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे। उनले विगतमा जस्तै फुटबलप्रतिको मोह अहिले क्रिकेटमा देखिएको उल्लेख गर्दै NPL (नेपाल प्रिमियर लिग) को कारण क्रिकेटमा खेलाडीहरूको भविष्य उज्ज्वल हुँदै गएको बताए। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई शुभकामना पनि व्यक्त गरे।

आठौं मेयर कप प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्गत विजेता टिमलाई ६० हजार रुपैयाँ र उपविजेता टिमलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यस्तै, ‘म्यान अफ द म्याच’ लगायत विभिन्न शीर्षकमा पदक र ट्रफीको व्यवस्था गरिएको छ।
कार्यक्रममा प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, सशस्त्र प्रहरी बलका प्रमुख, क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष, विभिन्न वडा अध्यक्षहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

