
शहबाज खान, कपिलवस्तु
कृष्णानगर, वडा नं. २ – जनताको जीवनस्तर उकास्ने उद्देश्यले शुरु गरिएको नाली तथा सडक निर्माण कार्य अहिले उल्टै जनताका लागि दुःखको कारण बनेको छ। कृष्णानगर नगरपालिका–२ अन्तर्गत पर्ने नंईमिया नेपाल चिहान सडक क्षेत्रमा नारायण गोपाल इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. (रुन्टीगढी–६, रोल्पा) द्वारा भइरहेको निर्माण कार्यले स्थानीय बासिन्दालाई गम्भीर समस्यामा पारेको छ।
स्थानीयहरूको भनाइ अनुसार, निर्माण कम्पनीले नेपाल खानेपानी संस्थान कृष्णानगरसँग समन्वय नगरी नाली खनेको कारण पानी आपूर्ति गर्ने पाइपलाइन क्षति भएको छ। यसका कारण सम्पूर्ण क्षेत्रमा खानेपानी आपूर्ति अवरुद्ध बनेको छ। गर्मी याममा अत्यन्त आवश्यक पर्ने पानी नपाउँदा स्थानीय बासिन्दा चरम सास्ती भोग्न बाध्य छन्।


सडक निर्माण अव्यवस्थित ढंगले भइरहेको भन्दै स्थानीयहरू आक्रोशित छन्। सडकमा हिलो, पानी जमेको अवस्था, गहिरा खाल्डाखुल्डीका कारण सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा कठिनाइ भएको छ। पानीको अभावले स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने चिन्ता जनाइएको छ।
स्थानीय बासिन्दाहरूले बारम्बार गुनासो गर्दा पनि नेपाल खानेपानी संस्थान, नगरपालिका तथा निर्माण कम्पनी मौन बसेका छन्। उनीहरूको संयुक्त लापरवाहीले समस्या चर्किएको जनगुनासो छ।
स्थानीय स्तरमा चर्किंदै गएको असन्तोषका बीच, सम्बन्धित निकायहरूले शीघ्र समन्वय गरी समस्या समाधान नगरे जनताको आक्रोश अझै बढ्न सक्ने देखिन्छ। विकासको नाममा नागरिकलाई सास्ती दिने होइन, सुविधा पुर्याउने उद्देश्य व्यवहारमा उतारिनु अहिलेको आवश्यकता हो।
