
वीरगन्ज — सशस्त्र प्रहरीले भारतबाट तस्करी हुँदै गरेको ८१ हजार ४९० पिस प्रतिबन्धित ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट वीरगन्ज–२, छपकैयाको भकुवा नाकाबाट बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साबाट नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा परिचालित टोलीले मंगलबार बिहान सूचना पाएको आधारमा छापामार शैलीमा कारबाही गरेको हो।

सिर्सिया नदी तरेर दुई जना तस्कर ट्याब्लेट भरिएको कार्टुन बोकी आउँदै गर्दा सशस्त्र प्रहरी देखेपछि उनीहरू कार्टुन फ्याँकेर फरार भएको प्रहरीको भनाइ छ। बरामद औषधिको मूल्य भारतमा सात लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।
उक्त ट्रामाडोल जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको र फरार तस्करहरूको खोजी जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
