
कपिलवस्तु, जेठ १० – कपिलवस्तुमा अब ट्राफिक नियम पालना गराउँने जिम्मा मात्र प्रहरीको रहने छैन — सर्वसाधारण पनि सवारी नियमनमा प्रत्यक्ष सहभागी बन्ने भएका छन्।
सडक दुर्घटनामा भइरहेको वृद्धिलाई ध्यानमा राख्दै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा एक नयाँ अभ्यास सुरु गरेका छन्। अब जो–कोहीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीको फोटो वा भिडियो खिचेर प्रहरीलाई पठाउन सक्छन्।
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार यो अभियानले विशेष गरी गाउँ तथा भित्री सडकमा, जहाँ प्रहरीको उपस्थिति कम छ, नियम पालनालाई सुदृढ गर्नेछ। उहाँले भन्नुभयो, “अब नागरिक पनि बिना बर्दीको प्रहरी बन्नेछन्। नियम तोड्ने देखे, फोटो वा भिडियो खिच्नुहोस्, हामी कारबाही गर्छौं।”

सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी खिचिएको फोटो वा भिडियो ह्वाट्सएप नम्बर ९८५७०५१०३८ मा पठाउन सकिनेछ। प्रहरीका अनुसार नागरिकबाट प्राप्त प्रमाणहरू गोप्य रूपमा राखिनेछ।
ट्राफिक प्रहरी प्रमुख पङ्कज चुँदालीले यो अभ्यासले ग्रामीण सडकमा पनि ट्राफिक अनुशासन कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यसले नागरिकलाई ट्राफिक सुरक्षाप्रति जिम्मेवार बनाउने र सुरक्षित सडक संस्कृति निर्माणमा टेवा दिने अपेक्षा गरिएको छ।
