
राष्ट्रियसभाको आजको बैठकले भन्सार विधेयक, २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई बैठकमा प्रस्तुत गर्नुभएको थियो।
सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर दिँदै उपप्रधानमन्त्री पौडेलले भन्सार विधेयकले राजस्व चुहावट रोक्ने, भन्सार प्रणालीलाई पारदर्शी र विश्वासिलो बनाउने, तथा अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो।
“यो विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” उहाँले भन्नुभयो।
विधेयकमा छलफल र सहभागिता
विधेयकमाथि छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, डा. बेदुराम भुसाल, तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा र गोपाल भट्टराईले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमा संशोधन प्रस्ताव राख्न इच्छुक सांसदहरूले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो।
अन्य कार्यसूची
यसअघि बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएको थियो।
त्यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको थियो।
यो विधेयकले देशको भन्सार प्रणालीमा सुधार ल्याउँदै आर्थिक विकास र राजस्व वृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।
