
वाणगंगा नगरपालिकाले बालबालिकाको स्वास्थ्य र सिकाइमा गर्मीका कारण परेको असरलाई मध्यनजर गर्दै थप तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले शनिबार एक सूचना जारी गर्दै असार १ देखि असार ३ गतेसम्म (तीन दिन) सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने जानकारी दिनुभयो।
यसअघि, जेठ २७ देखि जेठ ३० गतेसम्म चार दिनको गर्मी विदा दिइएको थियो। तर, मौसमको प्रतिकूलता र तीव्र गर्मीले अझै असर जारी रहेकाले नगरपालिकाले विदा लम्ब्याउने निर्णय गरेको हो।

नगर प्रमुख चक्रपाणी अर्यालले बालबालिकाको सिकाइलाई सकारात्मक बनाउनेतर्फ ध्यान दिन अभिभावकलाई आग्रह गर्नुभएको छ। “विदाका दिनलाई अध्ययन र जीवनोपयोगी सीप सिकाउने अवसरको रूपमा उपयोग गरौँ,” उहाँले भन्नुभयो।
नगरपालिकाले यस्तो निर्णय गर्दा विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकता दिएको छ। गर्मीका कारण सिर्जित असहज अवस्थालाई सम्बोधन गर्दै स्थानीय सरकारको यो कदम सराहनीय मानिएको छ।

