
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविता सार्वजनिक गरेका छन्। कविता मार्फत शाहीले प्रचण्डको राजनीतिक चरित्र र विश्वासनीयतामाथि टिप्पणी गरेका छन्।
शाहीले कवितामा दाहाललाई परिस्थिति अनुसार रङ बदल्ने ‘छेपारो’ को संज्ञा दिएका छन्। सत्ता र कुर्सीको मोहका कारण प्रचण्डले आफ्नो अडान बारम्बार फेर्ने गरेका छन् भन्ने सन्देश उनले कवितामा व्यक्त गरेका छन्।
कविता संसद् अवरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिको सन्दर्भमा लेखिएको हो। शाहीको आरोप छ कि प्रचण्डले राजनीतिक लाभका लागि आफ्नो अडान र बोली परिवर्तन गर्दै आएका छन्।
शाहीको कविता:
प्रचण्ड र छेपारो!
फेर्छ छेपारोले रङ,
परिस्थिति अनुसार।
प्रचण्डले फेर्छन् बोली,
कुर्सीको मोह अनुसार।।
सुरुमा क्रान्ति, परिवर्तनको नारा,
अहिले सत्ता, र कुर्सीकै साहारा।
प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए,
प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।।
कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र
प्रचण्डको विश्वास गर्नु एउटै हो।।

शाहीले प्रचण्डको राजनीतिक यात्रालाई अस्थिर र स्वार्थप्रेरित भनी चित्रण गरेका छन्। ‘क्रान्ति र परिवर्तन’को आडमा सत्ता कब्जा गर्ने र कुर्सीको मोहमा आफ्नो धारणा बदल्ने दाहालको प्रवृत्तिको आलोचना कवितामा गरिएको छ।
यसै क्रममा, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि दाहालसँगको राजनीतिक सहकार्यले चिप्लिएको आरोप लगाएका छन्।
ज्ञानेन्द्रबहादुर शाहीको यो कविता केवल साहित्यिक अभिव्यक्तिमात्र नभई नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि झल्काउने कविता सामाजिक सञ्जालमा भाइरल भएको छ र यसले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ।
