
हुम्ला जिल्ला अब राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएको छ । कर्णाली नदीमाथि खार्पुनाथ–५, खार्पु हुँदै चुवाखोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन असार २१ गते हुने भएको छ ।
गाडी सञ्चालन सँगै नेपालगञ्ज र सुर्खेतबाट सिमकोट पुग्न सहज भएको छ । यसले व्यवसायी र उपभोक्ता दुबैलाई राहत दिएको छ, किनभने सामग्री सस्तोमा उपलब्ध हुन थालेका छन् ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोर ६८२ किलोमिटर लामो छ, जुन नेपालगञ्जदेखि हिल्सा नाकासम्म फैलिएको छ । २०५६ सालमा शिलान्यास भएको कोरिडोरमा पछिल्ला वर्षहरूमा नेपाली सेनाको संलग्नतापछि निर्माण तीव्र बनेको हो ।

हिल्सा–सिमकोट खण्डका लागि १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्र्याक खुलेको छ भने चार वटा पुल निर्माण भइसकेका छन् । कूल लागत चार अर्ब १० करोडमध्ये दुई अर्ब २१ करोड खर्च भइसकेको छ ।
२६ वर्ष लामो प्रतीक्षा पछि सातै स्थानीय तहको योगदानसँगै हुम्ली नागरिकको सपना साकार भएको हो ।
