
कपिलवस्तु जिल्लाका युवा क्रिकेटर रौनक श्रीवास्तवले हालै मलेसियामा सम्पन्न एसिसी अन्डर–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा १६८ रनको उत्कृष्ट इनिङ खेल्दै सबैको ध्यान तान्न सफल भए। उनले केवल उच्च स्कोर मात्रै होइन, प्रतियोगितामै सर्वश्रेष्ठ खेलाडीका रूपमा “म्यान अफ द टुर्नामेन्ट” र “बेस्ट ब्याट्सम्यान”को उपाधि पनि प्राप्त गरे। यसै उपलब्धिपछि उनी आफ्नो गृह जिल्ला फर्किंदा कपिलवस्तुमा भव्य स्वागत र सम्मानको आयोजना गरियो।
सोमबार कपिलवस्तु आइपुगेका उनलाई मंगलवार जिल्ला क्रिकेट संघको अगुवाइमा बाजागाजा सहित तौलिहवा बजारमा र्याली गराएर सम्मान गरिएको थियो। जमुहारबाट सुरु भएको र्याली प्रशासन चोक, गौढी भिक्षु चोक हुँदै होटल तिलौराकोटसम्म पुगेको थियो। यस अवसरमा राजनीतिक, प्रशासनिक, खेलकुद र सामाजिक क्षेत्रका थुप्रै व्यक्तित्वहरूको उपस्थिति थियो।
रौनकलाई नगरप्रमुख सुदीप पौडेल, प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, प्रजिअ दिल कुमार तामाङ, क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे, उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, युवा नेता प्रकाश घिमिरेलगायतले फूलमाला, अबिर, खादा र सम्मानपत्रसहित स्वागत गरे। नगरप्रमुख पौडेलले नगद ५१ हजार रूपैयाँ दिने घोषणा गरे भने जिल्ला अध्यक्ष गैरेले २५ हजार मूल्य बराबरको ब्याट र संघको तर्फबाट ११ हजार नगद दिने प्रतिवद्धता जनाए।
सम्मान ग्रहण गर्दै रौनकले आफूले आजको उपलब्धि बुवा-आमा, गुरु तथा संघको सहयोगबाट हासिल गरेको भन्दै हार्दिक आभार प्रकट गरे। उनले यो सम्मानले अझ मेहनत र समर्पणका साथ अघि बढ्न प्रेरणा दिएको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य पाण्डेयले रौनकले आफ्नो प्रदर्शनमार्फत देश र जिल्लाको नाम उच्च बनाएको उल्लेख गर्दै तीनै तहका सरकारले खेलकुदमा थप लगानी गर्नुपर्ने धारणा राखे। प्रजिअ तामाङले नेपाल अब सगरमाथा र बुद्धसँगै क्रिकेटमार्फत पनि विश्वमा चिनिन थालेको धारणा राखे।

रौनकका प्रशिक्षक बिवेक त्रिपाठीले उनीमा अत्यन्त उज्यालो भविष्य देखिएको बताउँदै, नेपालमा क्रिकेटको क्षेत्रमा अझ धेरै लगानी र प्रशिक्षण आवश्यक रहेको बताए। संघका पूर्व केन्द्रीय सचिव प्रशान्त विक्रम मल्लले रौनकलाई क्रिकेटको हिराको संज्ञा दिँदै, आगामी दिनमा उनलाई थप अवसर दिलाउन पहल गर्ने प्रतिवद्धता जनाए।
त्यस अवसरमा संघकी प्रदेश सदस्य तथा व्यवस्थापक माया ज्ञवालीलाई पनि संघको प्रदेश समितिले सम्मान गरेको थियो।
रौनकको सम्मानले नेपाली खेल क्षेत्रमा युवा प्रतिभा पहिचान र प्रोत्साहनको एक सकारात्मक सन्देश दिएको छ। यस्तो सम्मानले न केवल रौनकजस्ता खेलाडीलाई आत्मबल बढाउँछ, बरु अन्य युवाहरूमाझ पनि प्रेरणा र आशाको उज्यालो किरण फैलाउँछ।
