
सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार बिहान गोली प्रहार गरी एक १८ वर्षीया किशोरीको हत्या गरिएको छ।
मृतक अर्सी खातुनको आफ्नै भिनाजु पक्षबाट हत्या भएको परिवारको आरोप छ। उनका बुवा गफार मियाँका अनुसार भारतको पत्रहा पञ्चायत–१६, घुर्ना बस्ने सौकात मियाँका छोरा अजाद मियाँ जट (२९) ले अर्सीलाई गोली हानी हत्या गरेका हुन्। घटनास्थलमै अर्सीको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

घटनाको जानकारी पाएपछि प्रहरी नायब निरीक्षक सुरेश यादवको कमान्डमा टोली परिचालन गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए। घटनास्थलबाट सानो हतियारमा प्रयोग हुने १ थान नपड्किएको गोली फेला परेको छ।
हत्या आरोपी अजाद मियाँ फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
