
काठमाडौं, साउन १६।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी आइतबार तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्ने भएका छन्। उनी त्यहाँ आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८, २०२५) हुने उक्त सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना हुँदैछ।
मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्ष का रूपमा सम्बोधन गर्नेछन्। साथै, उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्दै विभिन्न सत्रमा सहभागिता जनाउने कार्यक्रम पनि रहेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूसँग भेटवार्ता गर्नेछन्। साथै, संयुक्त राष्ट्रसंघका उच्चपदस्थ अधिकारी र अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिसँग समेत द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरू समेत टोलीमा सहभागी हुनेछन्।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली आगामी साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।
