कपिलवस्तुमा फेरि युरिया मल गायब, किसान निराश

0
Quantam abroad studies

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरका किसानको लागि ल्याइएका १९७ बोरा युरिया मल गायब भएको तथ्य बाहिर आएको छ। यो मल गाउँपालिका वडा नम्बर ३ स्थित ओम चन्द्रशेखर कृषि सहकारीमार्फत कृष्णनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनबाट ल्याइएको थियो। गत वैशाख १९ गते गाउँपालिकाले वडा नम्बर ३ र वडा नम्बर ७ का लागि ३९३ बोरा युरिया मल ल्याएको थियो। तर महिनौँ बितिसक्दा पनि वडा ७ मा मल वितरण भएको छैन।

वडाध्यक्ष जनार्दन प्रसाद कुर्मीले मल कहाँ गयो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको र यस विषयमा तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। गाउँपालिका अध्यक्ष वलिउदिन मुसलमानले समेत किसानबाट गुनासो आएको पुष्टि गर्दै उपाध्यक्षलाई छानबिनको निर्देशन दिएको बताए।

यो पहिलो घटना भने होइन। यसअघि वडा नम्बर ५ का लागि ल्याइएका १९७ बोरा युरिया मल समेत वितरण हुनुअघि नै हराएका थिए। सो प्रकरणमा चेतना विकास सहकारीका सञ्चालक वशिष्ठ कुमार पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाइसकेको छ। किसानको भनाइमा, साल्ट ट्रेडिङबाट खरिद गरिएको मल धेरैजसो डिलरहरूले जानाजानी अन्यत्र बिक्री गर्ने गरेको आरोप पुरानो हो।

sahani furniture udyog

हरनामपुरका किसानहरू अहिले मल नपाएर चिन्तित छन्। खेतमा बिउ छर्ने समय बित्दै जाँदा उनीहरूको मेहनत र उत्पादन दुवैमा नोक्सानी हुने आशंका बढेको छ। गाउँमै आएको मल उनीहरूको हातमा पुग्नुअघि नै हराउनु, उनीहरूका लागि केवल आर्थिक घाटा मात्र नभई विश्वासको ह्रास पनि हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.