
कपिलवस्तु — नेपालको पश्चिमी नाकामध्ये एउटा महत्त्वपूर्ण व्यापारिक नाका हो, कृष्णनगर। यहाँबाट प्रत्येक वर्ष अर्बौँको व्यापार हुने गर्छ। तर आयात र निर्यातको तुलनात्मक चित्र हेर्दा भने, आयातले निर्यातलाई निकै पछाडि पारेको स्पष्ट देखिन्छ।
भन्सार कार्यालय कृष्णनगरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा यो नाकाबाट करिब साढे १४ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ। तर, सोही अवधिमा भारततर्फ निर्यात भएको नेपाली सामानको मूल्य करिब २ अर्ब ४७ करोड रुपैयाँ मात्र रहेको छ।
निर्यात हुने वस्तुहरूमा सबैभन्दा अगाडि प्लाइउड छ। गत आर्थिक वर्षमा करिब १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी मूल्यको १६ लाख मेट्रिक टन प्लाइउड भारत निर्यात गरिएको तथ्याङ्कले देखाउँछ।
त्यसपछि ७५ करोड रुपैयाँभन्दा बढीको खैरो सिमेन्ट, करिब २२ करोड रुपैयाँ बराबरको खोटो रोजिन र झण्डै १४ करोड रुपैयाँको सिमेन्ट क्लिङ्कर भारत पठाइएको छ।
यसैगरी तार्पिनको तेल, एसेन्सियल आयल, जडीबुटी, काठका झ्याल–ढोका, भेनियर सिट र जमोठ कपडा पनि प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।
आयातको हिसाबले भने चामल अग्रस्थानमा छ। कृष्णनगर नाकाबाट मात्रै गत वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको चामल नेपाल भित्रिएको छ।
त्यसैगरी, औद्योगिक उत्पादनका लागि चाहिने कच्चा पदार्थहरूको आयात पनि उच्च छ। करिब ३ अर्ब रुपैयाँको कोइला र २ अर्ब ५९ करोड रुपैयाँको शुद्ध फलाम आयात भएको छ।
अन्य प्रमुख आयातित वस्तुमा माल्ट, सिसाका बोतल, धातुको खरानी, एलुमिनियमका ट्याङ्की तथा ड्रम, केरा, मसला, एटीएफ, बदाम र अङ्गुर रहेका छन्।

कृष्णनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा करिब ५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। यो राजस्व मुख्यतः आयात हुने वस्तुमा लाग्ने भन्सार महसुलमार्फत उठाइएको हो।
तथ्याङ्क स्पष्ट बोल्छ — कृष्णनगर नाकामा निर्यातको भन्दा आयातको दबदबा छ। प्लाइउड, सिमेन्ट र केही कच्चा पदार्थ बाहेक नेपालबाट भारततर्फ जाने वस्तुको दायरा सीमित छ। बरु उल्टै, दैनिक उपभोग्य वस्तुबाट लिएर औद्योगिक कच्चा पदार्थसम्मको ठूलो परिमाण नेपालले भारतबाट आयात गर्नुपर्ने अवस्था देखिन्छ।
यसरी हेर्दा, नेपालको व्यापार घाटा अझै गहिरिँदै गएको संकेत कृष्णनगर नाकाले पनि दिएको छ।
