
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउँदै आज तीन जना मन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री बनेसँगै कार्कीले तत्कालका लागि १५ मन्त्रालय आफैंले सम्हाल्ने निर्णय लिएकी छिन् ।
उनले सम्हाल्ने मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।
यसैबीच, प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी, अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री र कानुन मन्त्री बनेका छन् भने पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
तीनै जना नवनियुक्त मन्त्रीले सोमबारै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेर मन्त्रालय सम्हालेका छन् ।
