
काठमाडौं । आगजनीले भौतिक संरचना जलेर नष्ट भएपछि सर्वोच्च अदालतले आजदेखि पालमुनि इजलास सञ्चालन गर्न थालेको छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा भवन, सवारीसाधनदेखि मुद्दाका मिसिलसम्म जलेर क्षति भएको थियो । प्रवेशद्वारबाटै जलेका गाडी र भाँचिएका फर्निचर अझै थुप्रिएको अवस्थामा छन् ।
यसैबीच सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रिया निरन्तरता दिने निर्णय गरेपछि आज न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासमा बन्दी प्रत्यक्षीकरणका तीन मुद्दामाथि सुनुवाइ भएको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगजनीले इजलास बस्ने भवन नभएकाले अस्थायी रूपमा पाल टाँगेर इजलास सञ्चालन गरिएको हो । उनले २३ वटा अदालत भवनमा क्षति भएको जानकारी दिँदै केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएको बताए ।

भवनसँगै धेरै मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । पूर्ण रूपमा नष्ट भएका मिसिल कसरी पुनः संकलन गर्ने भन्नेबारे निर्देशिका बनाउन सर्वोच्चको पूर्ण बैठकले निर्णय गरिसकेको छ ।
हाल सर्वोच्च अदालतमा करिब २६ हजार मुद्दा विचाराधीन अवस्थामा छन् ।
