
जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले यात्रुवाहक सेवासँगै कार्गो (मालवाहक) रेल्वे सञ्चालन गर्ने तयारी अघि बढाएको छ। कम्पनीका महाप्रबन्धक निरञ्जन झालका अनुसार कार्गो सेवा सञ्चालनले कम्पनीलाई व्यावसायिक र नाफामूलक बनाउने लक्ष्य राखिएको छ।
हाल भारतको जयनगर–जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म ६५ किलोमिटर लामो ब्रोडगेज रेलमार्गमा यात्रुवाहक सेवा सञ्चालन भइरहेको छ। भारत सरकारको करिब १० अर्ब रुपैयाँ लागतमा मर्मत तथा निर्माण सम्पन्न यो रेल्वे नेपाल सरकारले भारतबाट खरिद गरेका दुई इन्जिन र चार–चार वोगीद्वारा चलाइँदै आएको छ।
यात्री ओसारपसार मात्र गरेर नाफा निकाल्न कठिन भएकाले कम्पनीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। कार्गो सेवा सञ्चालनका लागि अहिले वोगी थप्ने वा नयाँ रेल किन्नेबारे छलफल भइरहेको महाप्रबन्धक झालले बताए।

यसका लागि महोत्तरीको रामनगर र बर्दिवाससम्म रेल्वे विस्तार गरी नयाँ स्टेशन निर्माण गर्नेबारे भारत पक्षले अग्रसरता देखाएको छ। कार्गो सेवा सुरु भएमा भारतको कलकत्ता बन्दरगाहदेखि नेपालसम्म मालसामान सस्तो दरमा ढुवानी गर्न सकिने जनकपुरका व्यवसायी रामनरेश साहको भनाइ छ।
व्यवसायीले लामो समयदेखि माग गर्दै आएको कार्गो रेल्वे सेवा नजिकै सुरु हुने अपेक्षा गरिएको छ।
