
राजेश प्रसाद पान्डेय , कार्तिक १७
भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको नौगढमा सुरु भएको एक प्रेमकथा कार्तिक १५ मा नेपालको कपिलवस्तुमा आएर अपराध र दुर्घटनामा परिणत भएको छ। सिद्धार्थनगर चिल्हिया थानाका ३५ वर्षीय हफिजुल्लाह मुसलमानले आफ्नी प्रेमिका (४० वर्षीया निसा – सांकेतिक नाम) लाई विवाहको बहानामा नेपाल ल्याई हत्या गर्न खोजेका हुन्।

प्रहरीका अनुसार हफिजुल्लाह र निसा पछिल्ला ३ वर्षदेखि नौगढमा लिभिङ टुगेदरमा बस्दै आएका थिए। निसाले बारम्बार विवाहको प्रस्ताव गरेपछि हफिजुल्लाहले विवाह गर्ने प्रलोभन देखाई निसा र एक आपराधिक सहयोगी सहित यूपी ५५ एबी ६९७९ नं. को कारमा नेपाल आए । उनीहरू बुटवल हुँदै कपिलवस्तुका विभिन्न स्थान घुमेपछि चन्द्रौटा–तौलिहवा सडकखण्डको लौसा गाउँ नजिकपुगेका थिए।

त्यही क्रममा कारभित्र हफिजुल्लाहले प्रेमिकाको घाँटी डोरीले कसेर हत्या गर्न खोजे। प्रतिकारमा महिलाले संघर्ष गर्दा कार अनियन्त्रित भई ना १ ख ४९५० नम्बरको ट्रकसँग ठोक्कियो। कार ठोक्किएपछि महिला डोरीबाट उम्किन सफल भइ रोइकराइ गर्दा ट्रक चालकले उद्धार गरी प्रहरीलाई खबर गरे।
दुर्घटनापछि ट्रक चालक र सह–चालकले हफिजुल्लाहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। घटनास्थलबाट प्रहरीले नाइलन डोरी, गम्छा, र “एफटी न्यूज सच और कुछ नहीं” तथा “अवध न्यूज २४” लेखिएको बुम बरामद गरेको छ। यसबाट हफिजुल्लाह सम्भवतः पत्रकार समेत हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रेमिकाको बयान अनुसार, असोज ३१ गते उनीहरू बुटवलमा सँगै बसेका थिए, र त्यस रातका तस्बिरहरू निसाले हफिजुल्लाहकी श्रीमतीलाई पठाएकी थिइन्। त्यसपछि पारिवारिक विवाद बढेपछि हफिजुल्लाहले एक लाख रूपैयाँ सुपारी दिएर हत्या योजना बनाएका थिए।
हाल पीडित महिलाले किटानी जाहेरी दिएकी छन् र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार अदालतबाट हफिजुल्लाको ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
