
बाराको सिमरामा ‘जेन–जी आन्दोलन’का युवा र नेकपा (एमाले) समर्थकबीच उत्पन्न तनाव समाधानका लागि आज वार्ता हुने भएको छ। विगत दुई दिनदेखि चलिरहेको झडप तथा चर्किएको राजनीतिक विवादलाई संवादबाट अन्त्य गर्ने प्रयास अन्ततः सुरु भएको हो।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलका अनुसार दुवै पक्षसँग समन्वय गरी वार्ताको पहल गरिएको हो। शुक्रबार हुने वार्ताबाट दीर्घकालीन समाधानको आशा व्यक्त गर्दै उनले भन्यो, “समस्या राजनीतिक संवादबाट नै समाधान हुन्छ, त्यसतर्फ सबै पक्ष सकारात्मक छन्।”
वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, ‘जेन–जी आन्दोलन’का अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने छन्। उनीहरू बिहीबार साँझ नै सिमरा पुगेका हुन्।
तीन जना पक्राउ, ७ दिने म्याद थप
हालसम्म दर्ता भएका जाहेरीका आधारमा प्रहरीले तीन व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामा—

- अरविन्द साह (३८), जितपुरसिमरा–२
- धनबहादुर श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष
- कैमद्विन अन्सारी, वडा नम्बर ६ का वडाध्यक्ष
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
१० जना घाइते, कर्फ्यु आदेश
झडपका क्रममा ६ जना प्रहरी र ४ जना ‘जेन–जी’ समर्थक घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक–पटक कर्फ्यु आदेश जारी गरेको थियो।
आन्दोलन स्थगित, जनजीवन सामान्य
आन्दोलनरत युवाहरूले शुक्रबारसम्मका सबै कार्यक्रम स्थगित गरेको घोषणा गरेपछि सिमराको जनजीवन क्रमशः सामान्य बन्दै गएको अधिकारीहरूले बताएका छन्।
