
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी संकलन गर्न सञ्चालन गरिएको कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा अहिलेसम्म ८२ हजार १ सय जनाले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले दर्ता सम्बन्धी पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार प्रारम्भिक चरणमा दर्ता भएका मध्ये करिब ६ हजार जनाले आफूहरू असुरक्षित महसुस गरेको जानकारी दिएका थिए। तर पछिल्ला दिनहरूमा यस्तो महसुस गर्नेहरूको संख्या क्रमशः घट्दै गएको क्षेत्रीले बताउनुभयो।
इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रको अवस्था संवेदनशील बनेको सन्दर्भमा विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा सम्पर्क पनि भइरहेको उहाँले जानकारी दिनुभयो। हालसम्म ७८ वटा फोन कलसहित कुल १ सय ७० पटक मन्त्रालयसँग सम्पर्क भएको बताइएको छ।

प्रवक्ता क्षेत्रीका अनुसार मन्त्रालयले मध्यपूर्वस्थित आफ्ना १० वटै नेपाली नियोगहरूमार्फत त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे नियमित जानकारी लिने र आवश्यक समन्वय गर्ने काम जारी राखेको छ।
उहाँले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो। साथै साउदी अरबको जेद्दामा रहेका ५२ जना नेपाली हजयात्रीहरू पनि सुरक्षित रूपमा स्वदेश फर्किसकेको उहाँले बताउनुभयो।
मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै प्रवक्ता क्षेत्रीले आवश्यक परे उद्धारका लागि समेत सरकार तयार रहेको स्पष्ट पार्नुभयो।
