
बलवन्त गुप्ता, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नगर प्रमख रजत प्रताप शाहले दुई तल्ले आठ कोठे भवनको उद्घाटन गर्नु भएको छ । नगरपालिकाको वडा नं. १ं० सौनहवामा रहेको नेत्रज्योति माध्यमिक विद्यालयमा शाहले शुक्रवार सो भवनको उद्घाटन गर्नुभएको हो ।
जिल्ला समन्वय समितिको २१ लाख र नगरपालिकाको १४ लाख रुपियाँको लागतमा भवनको निमार्ण गरिएको प्रधानाध्यापक जय प्रकाश चौधरीले जानकारी दिनुभएको छ । भवन निर्माण कार्यमा अपुग रकम ७ लाख रुपियाँ विद्यालय कोषबाट लगानी गरी ४२ लाखको रुपियाँको लगानीमा भवन निर्माण गरी सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले जीर्ण अवस्थामा रहेका र अधुरा रहेका भवनहरुलाई आगामी आर्थिक वर्षका नयाँ भवन बनाउने बताउनुभएको छ । अन्य मर्मत सम्भार गर्ने खालका भवनका लागि थप आवश्यक बजेट नगरबाट सहयोग गर्ने आश्वासन दिनुभयो ।

नगर प्रमुख शाहले नेत्रज्योति माध्यमिक विद्यालय सौनहवालाई नमुना विद्यालय बनाउने बताउनुभयो । नमुना विद्यालय बनाउने मेरो सम्पूर्ण जिम्मेवारी भएको बताउदै आ–आफ्नो ठाउँबाट सक्रियरुपमा सबैलाई सहयोग गर्न अनुरोधसमेत गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा शिक्षाको मापदण्ड अनुसार एक कोठामा जति विद्यार्थी बस्नुपर्ने हो त्यही अनुपातमा व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
यस्तै विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीे विद्यालयको प्राङ्गण र विद्यालयको हेरचाह गर्न सुरक्षा गार्डको आवश्यकता परेकोले छिटै व्यवस्था मिलाई दिनका नगर प्रमुख शाह समक्ष अनुरोध गर्नुभएको छ । त्यस्तै वडाध्यक्ष अब्दुल मोविनखानले वडाबाट हुने आवश्यक सबै सेवा सुविधा उपलब्ध गराउने बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद यादवले विद्यालय निमार्ण कार्यमा सक्रिय भूमिका निर्वाह गरेका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यावाद दिनुभएको छ ।


