शहबाज खान /जेष्ठ २७
कपिलबस्तुको कृष्णनगर नगरपालिका भित्र क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुले क्वारेन्टाइन ब्यवस्थापनमा चरम लापरवाही भएको भन्दै शान्तिपूर्ण तरिकाले नगरपालिका घेराऊ गरेका थिए ।
कृष्णनगर नगरपालिका भित्र रहेको क्वारेन्टाइनमा खाने, बस्ने अत्यावश्यक सुबिधा पनि न दिएको भन्दै क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु परीक्षण पछि क्वारेन्टाइन बाहिर आएर कृष्णनगर नगरपालिका घेराऊ गरेको जानकारी नेकपा नगर अध्यक्ष जाबेद आलम खाले दिएका छन् । नगरपालिका घेराऊ गर्दै नेपाली नागरिकहरुले क्वारेन्टाइनमा खानाको लागि कुनै पनि ब्यवस्था न भएको हुदा घरबाटै खाना मंगाई खाने गरेको र सुत्नकोलागि ओछ्यान समेत घरबाटै मंगाएको गुनासो गरेका छन् ।
क्वारेन्टाइनबाट दिइएको सुबिधाको बारेमा सोधपुछ गर्दा एक जना क्वारेन्टाइनका ब्यक्तिले आफू बसेको २२ दिनमा सात पटक समोसा र चाउचाउ मात्र दिएको गुनासो गरेका छन् । केही क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुले क्वारेन्टाइनको खानाबाट धेरै जसो ब्यक्तिहरु झाडापखाला लागी बिरामी हुन थालेपछि क्वारेन्टाइनको खाना छोडी घरबाटै खाना मगाउन थालेको कुरा समेत भनेका छन् । एकजनाले क्वारेन्टाइनमा करिब १५१ जना पुरुषहरुबीच रहेको एकजना महिलालाई छुट्टै बस्ने ब्यवस्था मिलाउनको लागि पटक पटक वडाध्यक्ष सँग भनिरहदा पनि केही वास्ता नगरेको गुनासो पोखेका छन् ।
क्वारेन्टाइनका एक जना ब्यक्तिले क्वारेन्टाइनमा केही सुबिधा नभएको गुनासो गर्दा वडाध्यक्षले गैर जिम्मेवारीपूर्ण तरीकाले ,“म तिमीहरुलाई बोलाउन गएको थिए ? जे छ त्यसैमा काम चलाऊ ।” भनेको आरोप लगाएका छन् ।
नेपाल सरकार द्वारा जारी गरिएको क्वारेन्टाइन मापदण्ड अनुसार न भएको गुनासो स्थानीय समाजसेवी शाहिद खानले गरेका छन् । करिब ४ घण्टाको नगरपालिका घेराऊ पश्चात् कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाह बिरोध स्थलमा पुगी क्वारेन्टाइनमा रहेको व्यक्तिहरुले भोग्नुपरेको समस्या सुनेका थिए ।
क्वारेन्टाइन बासीहरुको समस्या सुनीसके पछि मेयर शाहले नगरकार्यपालिका समितिको बैठक बसी क्वारेन्टाइनमा खाना नपाएको व्यक्तिहरुको लागि केही आर्थिक ब्यवस्था मिलाउने आश्वासन दिएका छन् ।
नेपाल सरकार द्वारा जारी गरिएको मापदण्ड अनुरुप क्वारेन्टाइन व्यवस्थापन नभएको , क्वारेन्टाइनमा भइरहेको लापरवाही र मनमानीको बारेमा बारम्बार सम्बन्धित निकाय लाई अवगत गराइरहदा पनि केही सुनवाई नभएको, क्वारेन्टाइन ब्यवस्थापन र त्यसको खर्चको नभएको, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुकोलागि खाने बस्ने ब्यवस्था र परीक्षणको लागि बिभेद गरिने कुराको बिरोध गर्दै क्वारेन्टाइन बाट घर फर्किसकेका ब्यक्तिहरु शान्तिपूर्ण तरीकाले नगरपालिकाको मेयरलाई घेराऊ गरेको जानकारी इण्डो नेपाल सामाजिक मञ्चका संस्थापन अकरम पठानले दिएका छन् ।