उर्मिला यादव, माघ २५, पश्चिम नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब ४ लाख १६ हजार १ सय ५० रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।
प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा लुकाई छिपाई राखेको अन्दाजी एक लाख ३९ हजार २ सय ५० रुपैया मुल्य बराबरको लेडिज उलन कुर्ता सुरवाल, ८ बोरा बेम्बो चम्चा, तमाखु, बिजुलीको बल्ब लगायतका मालसामान आज बर्दघाट नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकबाट बरामद गरेको हो ।
बरामद भएका सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
त्यसै गरी सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई लाख चालिस हजार नौ सय रुपैया मुल्य बराबर को जेन्स कुर्ता, ओखल लगायतका मालसामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर दुई गोपालपुर बाट बरामद गरेको जनाएको छ ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोली लाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यस्तै गरी अस्थायी प्रहरी चौकी तोनवा बाट खटिएको प्रहरी टोलीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई सय किलो माछा रामग्राम नगरपालिका वडा नम्बर १६ हकुईबाट बरामद गरेको छ ।
उक्त माछा करीब ३६ हजार मुल्य बराबरको रहेको छ । बरामद भएका माछा स्थानियको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरीएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भएको छ ।