मौनताको अघि सबै शब्द फिक्का सावित हुन्छन्

0
Quantam abroad studies

–ब्रह्मश्री मित्र
काठमाडौं, २२ कात्तिक
अध्यात्मको चर्चा गर्दा, आत्मा–परमात्माको चर्चा गर्दा, अस्तित्वको चर्चा गर्दा अनि मौनताको चर्चा गर्दा हामीले जुन शब्दहरु प्रयोग गर्छौ, आखिर ती सबै शब्दहरु अत्यन्तै कमजोर सावित हुन्छन्। मौनको जुन अनुभूति छ, त्यसलाई शब्दमा व्याख्या गर्न गाह्रो हुन्छ।

मौनतालाई वेदले व्यक्त गर्ने प्रयास गर्यो, उपनिषद्ले पनि व्यक्त गर्ने प्रयास गर्यो, गीताले पनि व्यक्त गर्ने प्रयास गर्यो, कुरानले पनि गर्यो अनि बाइबलले पनि गर्यो। तर, जति पनि मौनको बारेमा व्यक्त गरिएका शब्दहरु छन्, तिनीहरुको आ–आफ्नै व्याख्या छन्।

कसैले मौनतालाई परमात्माको अनुभूतिको रुपमा, कसैले ईश्वर दर्शनका रुपमा, कसैले आत्मा अनुभूतिको रुपमा अनि कसैले अस्तित्वसँग एकाकार भएको रुपमा व्याख्या गर्दै आएका छन्। तर, जबसम्म मानिसले स्वयं मौनको अनुभूति गर्दैन, जाग्रत, स्वप्न र सुषुप्तिभन्दा पर मनको अवस्था छ, जबसम्म मनको त्यो अवस्थाको झिल्को व्यक्तिले पाउँदैन, तबसम्म उसले मौनका बारेमा व्याख्या गरिएका कुनै पनि शब्द पढेर, प्रवचन पढेर अथवा कुनै पनि दार्शनिक अभिव्यक्तिहरु पढेर मानिसले अनुभूति गर्न सक्दैन।

जब हामी गहन साधनामा जान्छौं, मौनताको गहन अनुभूति गर्छौ, यसको विशालताको आयामलाई अनुभूति गर्छौ, त्यसपछि चाहिँ शब्दमा यो कुरा जति अभिव्यक्त गरे पनि अभिव्यक्त हुँदैन। त्यसैले, मौनको झल्को पाएका आध्यात्मिक व्यक्तिहरुका बीचमा बसेर अलिकता केही चर्चा गर्यो भने व्यक्तिले थोरै बुँद प्राप्त गर्न सक्छ।

तर, सामान्य मानिस छ भने उनीहरुका लागि चाहिँ जति शब्दमा अभिव्यक्त गर्न खोजे पनि उनीहरुको हृदय वा आत्माको तहसम्म पुग्न निक्कै गाह्रो हुन्छ। हामी जतिजति गहन साधना गर्दै जान्छौं, मौन हुँदै जान्छौं, त्यसपछि बोल्ने कुरा नै कति सार्थक हो, बोल्नु कति उचित हो, कसका लागि बोल्ने हो भन्ने ठूलो प्रश्न आउँछ। एउटा ब्रह्मज्ञानी व्यक्ति भनौं, आत्मज्ञानी व्यक्ति भनौं, एक प्रकारले आत्मस्थ व्यक्ति भनौं अनि कुटस्थ व्यक्ति भनौं, ऊ मौनको भाषामै रमाउँछ।

यति हुँदाहुँदै पनि हामीले विचारलाई अन्वेषण गर्नैपर्ने हुन्छ। एउटा भनाइ छ नि ‘आइडिया मुभ्स द वल्र्ड, हु मुभ्स द आइडिया’ अर्थात् आइडियाले संसारलाई चलाइराखेको छ, दर्शनशास्त्र बनेको छ, मनोविज्ञान बनेको छ, साहित्य बनेको छ अनि विभिन्न प्रकारका धार्मिक ग्रन्थ छन्। सबै विचारको शृंखला छ।

कसैसँग कुराकानी गर्दा त्यसको बीचमा विचारको तरंग छन्। एक व्यक्तिले बोलेका विचारका तरंग अर्को व्यक्तिसम्म पुगेको हुन्छ। हजारौं प्रकारका विचारका तरंग यो स्पेसमा रहेका छन्। यसलाई हामी आइक्लाउडबाट हेर्न सक्छौं, जहाँ सबै सूचना संगृहित भएका छन्।

sahani furniture udyog

विज्ञान र प्रविधिको उच्चतम विकासले यस्ता कुरा हामीलाई प्रयोगात्मक रुपमा पनि देखाइरहेको छ। तर, यी सबैको स्रोत भनेको मौन हो। जब शरीरको दर्शन गर्दागर्दै, शरीरका संवेदना दर्शन गर्दागर्दै, हामी मान्छेको विचार, भावना, शरीर र संवेदनालाई शान्त बनाउँछौं। इति मात्र होइन, श्वासलाई दर्शन गर्दागर्दै आउने श्वास र जाने श्वासको ‘ग्याप’लाई अनुभूति गर्छौ।

विचारको शृंखलालाई अवलोकन गर्दागर्दै विचारको बीचमा अन्तराल फेला पार्छौ। जब हामी भावनालाई अवलोकन गर्छौ, भावनाको बीचमा पनि हामी अन्तराल अनुभूति गर्छौ। यसरी यो तहमा साधना गर्दै गएपछि शरीर, विचार र भावभन्दा पर गएर एउटा आत्मस्थ अवस्थामा वा स्थितप्रज्ञाको अवस्थामा हामीले आफूलाई पाउँछौं, त्यो अनुभूति साँच्चै अर्थमा मौन हो। जस्तैः जाग्रत अवस्था छ, स्वप्न अवस्था छ, सुषुप्ति अवस्था छ, सुषुप्ति पनि एक प्रकार मौनको अवस्था हो।

पातञ्जली ऋषिले सुषुप्तिलाई पनि एउटा समाधिको दर्जा दिनुभएको छ। सुषुप्ति समाधि र जाग्रत समाधिमा फरक छ। सुषुप्ति मौनमा आफ्नो र ब्रह्माण्डको पनि विस्मृति छ भने जाग्रत मौन चाहिँ सुषुप्तिभन्दा परको तुरिया अवस्था हो। जाग्रत मौन अर्थात् तुरिया अवस्थामा चाहिँ पूरा जागरण छ, अत्यन्तै व्यापक होस छ, जागृति छ, चैतन्यमय अवस्था छ, आनन्दमय छ, सद्चित्तआनन्द छ।

तर, पनि जुन बाह्य जगत छ, यो दृश्याभाष जगत छ, जसलाई जाग्रत रुपमा भौतिक र स्वप्न अवस्थामा मानसिक रुपमा हामी अनुभूत गर्छौ, यसरी अनुभूत गर्ने अब्जेक्ट चाहिँ त्यहाँ छैन। यसले गर्दा त्यो परम मौन अवस्थामा जब हामीले आफूलाई लैजान्छौं, त्यो अलौकिक हुन्छ। त्यतिबेला हाम्रा ऋषिमुनिहरुले ‘ओम देऊ शान्ति अर्थात् ओम पिस बि इन द युनिभर्स।

त्यसको डाइमेन्सन यति व्यापक छ, त्यसको परिधि यति फराकिलो छ। व्यक्ति, परिवार, राष्ट्र, अन्तर्राष्ट्र अनि यो ग्यालेक्टिक युनिभर्स छ, विशाल यो ब्रह्माण्ड छ। मौन अवस्थामा यो ब्रह्माण्डको पनि साक्षी सत्ताको अनुभूति हुन्छ, त्यतिबेला हाम्रा ऋषिमुनिहरुले पनि भन्नुभयो–पिस बि इन द युनिभर्स अर्थात् ओम देऊ शान्ति। उहाँहरुले फेरि भन्नुभयो–ओम अन्तरिक्ष शान्ति अर्थात् ओम पिस बि इन द स्पेस, ओम पृथ्वी शान्ति अर्थात् ओम पिस बि इन द अर्थ।

मौनको अवस्थामा कुनै सीमा छैन, त्यहाँ कुनै द्वन्द्व छैन, त्यहाँ कुनै प्रकारको सर्त छैन। जुन जाग्रत अवस्था छ, त्यो अवस्थालाई अनुभूत गर्नका लागि एक प्रकारको साधनाबाट मानिस गुज्रनैपर्छ। आफ्नो साधनालाई हामीले योग, प्रणायाम र ध्यान भनिरहेका छौं। यो सत्ययुगमा पनि, द्वापरयुगमा पनि, कलियुगमा पनि र कुनै पनि युगमा पनि, सत्यलाई अनुभूत गर्नुछ, सत्यको अन्वेषण गर्नुछ। इदि मौनमा आफूलाई स्थित गराउने हो भने साधनाबाट हामी सबै गुज्रनैपर्छ।

(योगगुरु ब्रह्मश्री मित्रसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.