
शहबाज खान, कपिलवस्तु
IIMS कलेज काठकाण्डाैले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आत्मरक्षा तालिम दिई महिला दिवस मनाएको छ । ‘सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विश्वभरीका महिलाहरुले श्रमिक महिला दिवस मनाइरहँदा IIMS कलेजले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई भव्य रुपमा कार्यक्रम गरी मनाइएकाे आयाेजकले जनाएको छ ।
कलेजले महिला सशक्तिकरणका लागि अध्ययनरत विद्यार्थीलाई आत्मरक्षा गर्नको लागि कराटे तथा आत्मरक्षा गर्दा चाल्नुपर्ने सीपकाे तालिम दिएको हाे । कार्यक्रममा सुलोचन सिजाखा, देवु थापा, साजन श्रेष्ठ र निशा चौधरीले प्रशिक्षण दिएकाे कलेज प्रशासनले जनाएको छ ।
कलेजकाे कार्यक्रम संयोजक नुशरत जहाँले आधुनिक विश्वमा अब महिला माथिका सबै खाले विभेद अन्त्य गर्नुपर्ने बताउँदै महिला र पुरुषकाे समान अधिकार र व्यवहार अहिलेको आवश्यकता रहेकाे बताइन् । उनले समान अधिकारका लागि महिलालाई सिप र स्वरोजगार दिनुपर्नेमा जिकिर गरिन् । श्रमको उचित मूल्य, सामाजिक सुरक्षा, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनुपर्ने जाेड दिइन् ।

महिला अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको व्यवहारमै कार्यान्वयन लागु गर्नुपर्ने बताउँदै सामाजिक र राजनैतिक अधिकार पनि सुनिश्चित हुनेपर्ने उनले माग गरिन् । राज्य दिने हरेक महिला अधिकारलाई सरकारले कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न जहाँले अनुरोधसमेत गरिन् ।
कार्यक्रम संयाेजक नुशरत जहाँले प्रशिक्षकलाई सम्मान पत्रसमेत प्रदान गर्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि IIMS कलेजले महिला सशक्तिकरण तथा विकासको लागि थप कार्यक्रम गरिने प्रतिबद्धताका जनाएकी छन् ।
