
कपिलवस्तु , साउन १
मायादेवी गाउँपालिकामा ४ वडा अध्यक्षहरुले करारका कर्मचारी हटाइएको निर्णयविरुद्ध उत्रिएका छन् । आज ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउदै तत्काल सो निर्णय नसच्चाए आन्दोलनमा उत्रिने समेत जानकारी गराएका छन् ।
बिरोधमा उत्रिएका वडा अध्यक्षहरुमा मायादेवी गा.पा वडा ३ का शैलेन्द्र कुमार यादव , वडा ४ का अस्फाक अहमद मु.
, वडा ६ का संदीप कुमार चौधरी , वडा ७ का जर्नादन प्रसाद चौधरी रहेका छन् ।
वडा अध्यक्षहरुले सयुक्त रुपमा दिएको ज्ञापनपत्रमा “मायादेवी गाउँपालिकाको कार्यालय पकडी कपिलवस्तुको मिति २०७९।०३।३१ गतेको सूचना अनुसार गाउँपालिका भित्र रहेका सम्पूर्ण संस्था , वडा कार्यालय तथा सेवा केन्द्र र शाखाहरुमा कार्यरत सम्पूर्ण अस्थायी , सेवा करार तथा दैनिक ज्यालादारीमा कामकाज गर्दै आई रहेको कर्मचारीहरुलाई मिति २०७९ श्रावण १ गते देखि लागु हुने गरी अर्को व्यवस्था/ सुचना प्राप्त नभईन्जेल सम्मका लागि हाजिरी नगर्न/ नगराउनका लागि गाउँपालिकाको निर्णय भनेर सुचना जारी गरेकोमा हाम्रो गम्भिर ध्यानआकर्षण भएको उल्लेख गरिएको छ ।

गाउँसभा / कार्यपालिकामा समेत कुनै जानकारी र निर्णय नगराई व्यक्ति विशेषको आदेशमा गरेको षडयन्त्र पूर्वक राजनैतिक पूर्वाग्रह राखी सुचना निकाल्नु दुर्भाग्यपूर्ण रहेको र देशमा विद्यमान बेरोजगारी समस्या रहेको सर्वविदितै छ । स्थानीय सरकारले युवाहरुलाई झन रोजगार दिनुको सट्टा बेरोजगार बनाउने कार्यको घोरभर्त्सना गर्दै अविलम्ब सो निर्णय फिर्तालिई कर्मचारीहरुलाई पुनः कार्यालयहरुमा हाजिर हुनलाई सुचना जारी गरी हाजिरी गराई कामकाजमा खटाई जनतालाई सहज सुलभ सेवा प्रदान गर्न वातावरण मिलाउन तत्कालै कार्यन्वयन गर्न जानकारी गराइन्छ । सो कार्य अविलम्ब नगरे हामी वार्ड नं. ३, ४, ६ र ७ वडाका जनप्रतिनिधीहरुले वडा कार्यालयको कामकाज ठप्प गरी आम कर्मचारी जनसमुदाय सामाजसेवीको सहयोगमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी ज्ञापनपत्रमा आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाको कार्यालयको हुने बताउदै सो पत्र
जिल्ला प्रशासन कार्यलय र जिल्ला समन्वय इकाई कार्यालय तौलिहवामा पठाएका छन् ।

