निरहु यादव , २३ पुष
कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलामा बालुवाको चोरी निकासी बढे पनि सरोकारवाला निकाय भने मौन देखिएको छ ।
दिउँसो तथा रातिको समयमा खोलामा ट्र्यक्टर लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गर्दा पनि प्रहरीले त्यसलाई रोक्न चासो देखाएको छैन । सुरही खोलाको हल्लानगर , बिशुनपुर हरहट्टी तथा लक्ष्मणघाट लगायतका नाकाबाट बालुवा पदार्थ चोरी निकासी हुने गरेको पाइएको छ । हरेक वर्ष असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने व्यवस्था भएपनि बालुवा चोरहरु प्रशासनको मौनताले चोरी गर्न बल पाइरहेका छन । स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन् र निकासी गर्न पाइने ब्यवस्था रहेको छ।
तर खोलामा प्रवेश नै गर्न नपाइने अवधिमा पनि रातको समयमा नदीजन्य पदार्थ उत्खनन् र चोरी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खनन्ले चौतर्फी जोखिम बढाएको छ । सुरही खोलाबाट केही व्यक्तिहरूले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि त्यहाँका स्थानीय जनप्रतिनिधिहरु मुकदर्शक बनेका छन । नदीजन्य पदार्थ चोरी भएको विषयमा नजिकै रहेको सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख हरि रिमालबाट बुझ्दा बालुवा लोड गर्दा नभेटेको र चोरी निकासी रोक्न प्रयासमा छौँ भन्नू भयो ।
वडा प्रहरी कार्यलय चन्द्रौटाका ३ जना घुमुवाहरु सूचना संकलन तथा गोप्य स्रोतहरु पता लगाउन खटाइए पनि बालुवा चोरी नरोकिएको अवस्थामा प्रहरी घुमुवाहरु माथि नै आशंका रहेको देखिन्छ । दिनमै लोड भइरहेको बालुवा प्रति सोधखोज नहुनूमा जनप्रतिनिधि र प्रहरीले बेवास्ता गरेको देखिन्छ । प्रहरी प्रशासनकै मौनताले यस्तो काम भएको आशंका छ। यसले गर्दा सरकारको लाखौंको राजस्व गुमिरहेको स्थानीयको गुनासो छ ।