
शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सडक, भवन, नाली जस्ता निर्माणका कार्यहरुमा लापरवाही गरेको छ ।
नगरपालिकाले विभिन्न निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । जनप्रतिनिधि, प्राविधिक (इन्जिनियर) र उपभोक्ता समितिहरुको मिलेमतोÞमा गुणस्तरहीन काम भइरहेको छ । यसरी नगरपालिकाले विकास निर्माणको काममा करोडौँको बजेटको रकम दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।
नगरपालिकाको नगर स्तरीय डबरा लिंक रोडदेखि समयथान हँुदै दयानगरसम्म सड़क मर्मत योजनामा ठुलो अनियमितता भएको स्थानीयले बताएका छन् । उनीहरुले नगरपालिकाको १० लाख र उपभोक्ता समितिको जनश्रमदान १ लाख ८२ हजार १ सय ११ रुपैयाँ ११ लाख ८२ हजार १ सय ११ रुपैयाँमा ५ सय ५१ मिटर लामो सडक मर्मत भइरहेको जनाएका छन् । उक्त सडक ४.५० मिटर चौडा, १ फिट उँचाई, माटो र माटोमाथि १५ सेन्टिमिटर मोटो ग्राभेल खसाली मर्मत गर्ने योजना रहेको नगरपालिकाका सब–इन्जिनियर मनिष पाण्डेले बताए ।
एक स्थानीय नाम नखुलाउने शर्तमा सडक मर्मत योजनामा जनप्रतिनिधिहरुले आफ्नो आसेपासे, कार्यकर्ता पाल्ने काम गरेको बताए । उनले यो सड़कमा गत वर्ष पनि ५ लाख रुपैयाँ बजेटमा सड़क निर्माण भएको बताउँदै यस पटक यस मर्मतमा २२ ट्रालि माटो र १५ ट्राली ग्राभेल मात्रै खसालेको बताए । सडकमा लागेको ह्युम पाइप पनि दयानगर गाउँमा रहेको पुरानो ह्युम पाइप लगाएको उनले जनाए ।
गत वर्षको बजेटमा बनेको सडकलाई पुनः त्यही माथि हल्का माटो खसाल्दै जेसीबी मेसिन चलाएको कुरा खुलाए । उनले सबै जना मिलेर बजेट पकाउने काम गरेको भन्दै जनताको पैसा भष्ट्राचार गरेको आरोपसमेत लगाए । उनले उक्त सडकमा ३ लाख बराबरको काम मात्रै भएको गुनासो गरे ।


यता नगरपालिकाका इन्जिनियर प्रदीप कुमार चौधरीले सड़क मर्मत योजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको बताए । उनले सड़क मर्मत योजनालाई हेर्ने साइट सब–इन्जिनियर मनिष पाण्डेलाई आजसम्म उपभोक्ता समितिका अध्यक्ष तथा समितिका पदाधिकारीहरुको नाम, सम्पर्क नम्बरसमेत जानकारी नभएको बताए । उता इन्जिनियर पाण्डेलाई सड़क मर्मत योजनाको स्टिमेटको जानकारीका लागि तीन दिन लाग्ने बताए ।
उपभोक्ता समिति गठन बारे सम्बन्धित वडालाई समेत जानकारी नरहेको वडा अध्यक्षले बताए । स्थानीयहरुले सड़क मर्मत उपभोक्ता समिति बारे उपभोक्ता समितिका पदाधिकारीहरु हस्ताक्षर गर्ने काम गर्ने गरेको आरोप लगाए । बाँकी निर्माण मर्मत कार्य अन्यले गर्ने गरेको समेत स्थानीयले बताए । दयानगर गाउँबासीहरुले उपभोक्ता समितिका पदाधिकारीहरु पनि स्थानीय नभएर अन्य गाउँका मान्छे रहेको बताएका छन् ।
हरेक निर्माण कार्यमा अनियमितता हुँदै गर्दा पनि नगरपालिकाले ध्यान दिएको छैन । लगातार अनियमितताको जनगुनासो आए पनि नगरपालिका प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले प्राविधिक कुरा जानकारी नभएको बताए । उनले स्थलगत अनुगमन गरि बिल भौचरको आधारमा बिल पास गर्ने गरेको बताए ।
