
शहबाज खान
कपिलवस्तु, असाेज १०
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ४ मा रहेको परसोहिया स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । खानेपानी नभएपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई निकै सास्ती खेप्नु परेकाे छ । स्वास्थ्य चौकीमा एक वर्ष भन्दा बढी समयदेखि बिरामी, स्वास्थ्यकर्मीलाई पिउने पानी, शौचालयको प्रयोग र सरसफाई गर्न समस्या भएकाे छ ।
स्वास्थ्यकर्मीले बिरामीकाे उपचार, ड्रेसिंग, औषधी खुवाउँदा गर्भवती महिला, बाल-बच्चा, बिरामीलाई पानीकाे व्यवस्थापन नहुँदा समस्या भएको गुनासो गरेका छन् । उनीहरुले शौचालयको प्रयोगमा निकै कठिनाई भएको बताएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य संस्था जस्तो अतिआवश्यक ठाउँमा खानेपानी व्यवस्थापन सम्बन्धित निकायले ध्यान नदिएकाे स्वास्थ्यकर्मी र सेवाग्राहीकाे भनाई छ ।
यस्तै स्वास्थ्य चौकीमा पानीको समस्या मात्रै नभएर सरसफाईमा चरम लापरवाही देखिएको छ। स्वास्थ्य चौकीबाट निस्केको ‘फोहर मलाई’ फाल्ने वा नष्ट गर्ने उचित व्यवस्थापन समेत छैन। स्वच्छ, सफा तथा पूर्ण व्यवस्थापन हुनु पर्ने तर व्यवस्थापन पक्ष कमजोरी देखिएकाे स्थानीयकाे आराेप छ । स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य चाैकीमा आ-आफ्नो घरबाट पानी बाेकेर ल्याउनुपर्ने बाध्यता छ । घरबाट ल्याएको पानी सकिएपछि चाैकी छेउका सरफराजको नल्काको पानी प्रयोग गरिने अवस्था रहेकाे स्वास्थ्यकर्मी बताउँछन् ।
बिरामीलाई औषधी खान नल्काकाे पानी पिउने योग्य छ कि छैन भन्ने पानीको गुणस्तर जाँच नहुँदा थप समस्या निम्त्याउने सक्ने उनीहरुकाे भनाई छ । स्वास्थ्यकर्मीले पटक-पटक स्वास्थ्य चौकी प्रमुख माधव अर्यालसँग खानेपानी व्यवस्थापनका लागि अनुरोध गरे पनि चाँसाे नदिएको बताउँछन् । उनीहरूले सकेजति आफै सरसफाइ गरिने गरेकाे बताउँछन् ।

यता स्वास्थ्य चौकी प्रमुख माधव अर्याल अनुसार खानेपानी बिना स्वास्थ्य चौकी सञ्चालनमा कुनै समस्या नभएको बताएका छन् । उनले स्वास्थ्य चौकीमा नल्का रहेको दाबी समेत गरेका छन् । नल्का बिग्रेको बताउँदै स्वास्थ्य चौकीमा बजेट नभएको कारणले खानेपानीको व्यवस्थापनमा समस्या सिर्जना भएको अर्यालको भनाई छ । बिरामीहरुले प्रयोग गरि रहेका नल्काको पानीकाे गुणस्तर १० वर्ष पहिला जाँच गराइएको र प्रयाेग याेग्य रहेकाे उनले जिकिर गरे ।
यशोधरा गाउँपालिका स्वास्थ्य संयोजक विरेन्द्र कुमार मिश्रका अनुसार स्वास्थ्य चौकीमा खानेपानी व्यवस्थापनमा समस्याको भएको बताउँदै विविध कारणले समाधान हुन नसकेकाे भन्दै थप जानकारी दिन चाहेनन् । यस्तै यशोधरा गाउपालिका अध्यक्ष शिव दयाल तिवारीले स्वास्थ्य चाैकीमा खानेपानी समस्या बारे कुनै जानकारी नभएको बताए । उनले खानेपानीकाे समस्या भए दशैँपछि व्यवस्थापन गराउने बताए । पानीको समस्या बारे बुझेर तत्काल उपलब्ध गराउने पर्ने तर दशै पछि व्यवस्थापन गर्ने अध्यक्ष तिवारीकाे भनाई छ ।
