शहबाज खान , कपिलवस्तु, कार्तिक २१
शिवराज अस्पताल अझै सुधार हुन सकेको छैन । कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा अवस्थित शिवराज अस्पताल अस्तव्यस्त देखिएको छ ।
देशकै दोस्रो अस्पताल भए पनि दक्ष जनशक्ति, आवश्यक उपकरण र औषधीको अभावले शिवराज अस्पतालको अवस्था दयानीय छ । स्थानीय सरकारले अस्पताल प्रति खासै चाँसो नदिएका कारण अस्तव्यस्त देखिएको स्थानीयको गुनासो छ । नगरपालिकाले अस्पतालमा आवश्यक लगानी नगर्दा अस्पताल सञ्चालनमा समस्या सिर्जना भएको उनीहरुको भनाई छ । अस्पतालमा उपचार गराउन आउने बिरामीहरुले उचित औषधी उपचार नपाएर घर फर्किने गरेको वा अन्त बाहिर अस्पतालमा जानुपर्ने बाध्यता छ ।
प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले सोमवारका दिन शिवराज अस्पतालको अनुगमन गर्ने क्रममा व्यवस्थित नदेखिएको स्वकीय सचिव बृजेश कुमार गुप्ताले बताए । उनले शिवराज अस्पतालमा जनशक्ति, उपकरण, औषधी, पानी जस्ता अति आवश्यक सामग्रीको निकै अभाव देखिएको बताए । नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधी मध्ये ४०% मात्रै अस्पतालमा उपलब्ध भएको बताए । उनका अनुसार व्यवस्थित अस्पताल सञ्चालन गर्दा चाहिएको उपकरणहरुको अभाव छ । अस्पतालमा दुई जना डाक्टरको दरबन्दीमा एक जना करारका डाक्टर मात्रै रहेको ३६ जना कर्मचारीको दरबन्दीमा ३ जना स्थायी कर्मचारी मात्रै रहेका छन् ।
बाँकी कर्मचारी करारमा कार्यरत छन् । अस्पतालमा औषधी उपलब्ध नहुँदा बिरामीहरुले प्राइवेट स्वास्थ्य संस्थामा जाने बाध्यता रहेको स्वकीय सचिव गुप्ताले गुनासो पोखे । एक बिरामीका अनुसार शिवराज अस्पतालमा कार्यरत डाक्टरहरु अधिकांश औषधी बाहिरबाट किन्नुपर्ने बाध्यता छ । डाक्टरले लेखेको औषधी सिमित मेडिकल स्टोरमा मात्रै पठाउने गरेका छन् । ती मेडिकल पनि शिवराज अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र डाक्टरकोे आफन्तहरुले सञ्चालन गरेको बताइएको छ । सांसद गुप्ताले जनगुनासो बढेपछि शिवराज अस्पतालको अनुगमन गरेको बताए । उनले अस्पताल जस्तो नदेखिएको बताउँदै भौतिक संरचना अस्त–व्यस्त भएको र उचित व्यवस्थापन नहँुदा बिरामीहरुले उचित उपचार नपाएर अन्त जाने गरेको बताए । यो अस्पताल पारिवारिक कब्जामा भएको कारण अस्पतालको विकास नभएको उनले बताए । उनले शाह परिवारले शिवराज अस्पताललाई आफ्ना कार्यकर्ता पाल्ने केन्द्रको रुप बनाएको भन्दै व्यवस्थापनमा चाँसो नदिएकोले अस्पतालको विकास नभएको बताए ।
औषधी अभावले गरिब असहाय बिरामी औषधी उपचार नपाएर घर फर्किने गरेको उनले बताए । उनले दरबन्दी अनुसार जनशक्ति, उपकरण, खानेपानी, औषधीहरुको चरम अभाव देखिएको बताउँदै अस्पतालका डाक्टरहरुले पानीको व्यवस्थापन पानी र उपकरण उपलब्ध गराउनको लागि आफुसँग माग समेत गरेको बताए । गुप्ताले स्थानीय तहको चरम लापरवाहीका कारण अस्पताल अस्त–व्यस्त देखिएको आरोप समेत लगाए । उनले कृष्णनगर नगरपालिकाका मेयरको घर नजिकै शिवराज अस्पताल बहादुरगञ्ज भए पनि अस्पतालको अवस्था बुझी सुधारमा चाँसो नदेखाएको बताए । उनले दशकौँदेखि शिवराज अस्पताल नगर प्रमुख रजत प्रताप शाहको पारिवारिक प्रभावमा रहेको कारणले अस्पतालको विकास हुन नसकेको आरोप लगाए ।
पुर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो कार्यकालमा भवन निर्माणको लागि दिएको बजेटमा कृष्णनगर नगरपालिकाबाट पनि थप बजेट गरि निर्माण गर्न लागेको भवन अधुरो निर्माणमा रहेको बताउँदै अस्पतालको अवस्था हेर्दा आर्थिक अनियमितता भएको आशंका समेत व्यक्त गरे । अनुगमनको क्रममा बिरामीहरुसँग भेंटघाट गर्दा बिरामीहरु अस्पतालको व्यवस्थापन प्रति असन्तुष्टी जनाएको बताए । सांसद गुप्ताले डाक्टरहरुले बिरामीको रगत, दिसा, पिसाब जाँच गर्ने प्रयोगशालामा उपकरण, औषधी, पानी अभाव बारे जानकारी गराउँदै व्यवस्थापनका लागि पहल गर्ने बताए । सांसद गुप्ताले काठमाण्डौ पुगेर स्वास्थ्यमन्त्रीसँग भेट गरि शिवराज अस्पताल बहादुरगञ्जमा उपकरण औषधी तथा पानीको समस्यालाई छिटै समाधान गर्न आश्वासन व्यक्त गरे ।