शहबाज खान
कपिलवस्तु , साउन १९
जिल्लाको एउटा आधारभूत अस्पतालमा १३ कर्मचारी म्याद थप कुर्दै छन् । १४ दरबन्दी कर्मचारी कुर्दै छ भने कार्यालय सहयोगीले औषधि बितरण गर्दै छन् । जिल्लाकाे यशोधरा गाउँपालिकामा संचालित आधारभूत अस्पताल बैदौलीमा कुल ३० कर्मचारीको दरबन्दी हुनुपर्ने हो । तर हाल जम्मा १६ जना कर्मचारीको मात्र दरबन्दी रहेको छ । आवस्यक कर्मचारीको दरबन्दी नहुदा फार्मासिस्टको अभावमा कार्यालय सहयोगीले बिरामीलाइ औषधि बितरण गरिरहेका छन् ।
अस्पतालमा कार्यालय सहयाेगी शैलेन्द्र पाठक र श्रीराम यादवले बिरामीहरुलाई औषधी वितरण गर्दै आइरहेकाे स्थानीयले बताएका थिए । गाउँपालिकाले जनताको मर्म बुझी आधारभूत अस्पतालको स्थापना गरेपनि अस्पताल व्यवस्थित नहुँदा नागरिककाे स्वास्थ्य जस्तो गम्भीर विषयमा चरम लापरवाही देखिएकाे छ । नागरिकले पाउने आवश्यक सेवा-सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन ।
अस्पतालमा ३० जना कर्मचारीको दरबन्दी हुनु पर्नेमा जम्मा १६ जना कर्मचारी मात्र रहेका छन् । जस मध्ये ३ जना स्थायी कर्मचारी र १३ जना करारका कर्मचारी कार्यरत रहेको अस्पतालका इन्चार्ज दिपेंद्र सहानीले बताए। अस्पतालमा फार्मासिस्ट नभएको कारणले अस्पतालमा लामो समयदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका शैलेन्द्र पाठक र श्रीराम यादवले चिकित्सकले बिरामीहरुको पर्चामा औषधीकाे नाम लेखे अनुसार उनिहरुले औषधी वितरण गर्न सहयोग गरेको इन्चार्ज सहानीले दाबी गरे ।
अस्पतालमा दरबन्दी अनुसार कर्मचारीको अभाव र १३ जना करार कर्मचारीहरुको अषाढ़मसान्त सकिदा समेत करार सम्झौताकाे म्याद थप नहुँदा अस्पतालका कर्मचारीको जागीर रहने नरहने अन्योलका कारण मनोबल खसकिएको इन्चार्ज सहानीले बताएका छन् । उनले कर्मचारीको अभाव र भएका कर्मचारीको म्याद थप नहुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न निकै समस्या भएकाे समेत बताए।
यसैगरी यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले कराराका कर्मचारीहरुको सम्झौताकाे म्याद थपिएकाे दाबी गर्दै कर्मचारीहरु कामकाजमा खटेको बताएका छन् । यस्तै नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालका सेवा-सुविधालाई थप व्यवस्थित गर्न गाउँपालिकाले छिटै ठोस कदम चाल्ने अध्यक्ष तिवारीकाे भनाइ छ ।
यता करारका कर्मचारीहरुले कारर सम्झौता म्याद थप गरिएको सम्बन्धमा कुनै पत्र प्राप्त नभएको बताउँछन् । सम्झाैता पत्र नभएपछि जागिर रहने नरहने अन्योलमा बस्दै आफ्नो कामकाजमा खटि रहेको उनीहरुले गुनासो सुनाए ।