कमलेश चन्द्र गुप्ता, कपिलवस्तु
विजयनगरमा रहेको गौतमबुद्ध साझेदारी उपभोक्ता वन समूहको उज्ज्वलपुरको ९औं साधारण सभा शनिबार सम्पन्न भएको छ। उक्त सभामा आर्थिक वर्ष ०८०/०८१ को आय व्यय प्रगति प्रतिवेदन तथा आगामी वर्षमा गरिने योजनाहरू प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि, विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले वनले संरक्षणका गतिविधिहरूमा अपेक्षाभन्दा कम सक्रियता देखाएको टिप्पणी गरिन्। उनले वन्यजन्तु, तालपोखरी, र उजाड जमिनलाई पुनः हरियाली बनाउन वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिनुपर्ने सुझाव दिँदै, सीपमूलक र रोजगारमूलक योजनाहरूको पनि खाँचो रहेको बताइन्। चौधरीले सामाजिक विकासमा वनको योगदान बढाउन स्थानीय तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन्।
डिभिजन वन अधिकृत राजु क्षेत्रीले सामुदायिक वनको महत्त्वलाई राष्ट्रिय स्तरमा चिनाउनुपर्ने र उपभोक्ताहरूलाई सेवा-सुविधा पु-याउन वनको प्रतिबद्धता रहेको बताए। उनले वनले रोजगार र आयआर्जनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। “साझेदारी वनले वन संरक्षणमा दिनरात खटेर काम गरिरहेको छ, तर अझ धेरै चुनौतीहरू छन् जसलाई पार गर्न सरकार र जनताको सहयोग आवश्यक छ,” क्षेत्रीले भने।
उपभोक्ता समूहकी उपाध्यक्ष सिमा अर्यालले स्वागत मन्तव्य राख्दै आगामी दिनमा वन संरक्षणमा स्थानीय समुदायको सक्रियता बढाउन आह्वान गरिन्।
गौतमबुद्ध साझेदारी वनका अधिकारी सुजनराज भण्डारीले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण र सामाजिक विकासका योजनाहरूको प्रगति विवरण प्रस्तुत गरे। उनले वर्तमान चुनौतीहरूलाई सामना गर्दै वनले स्थानीय समृद्धिमा योगदान दिनु पर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, शिवराज साझेदारी वनका अध्यक्ष हरि पोखरेल, कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारी लगायतका अतिथिहरूले पनि वन संरक्षण र विकासमा नयाँ योजनाहरू लागू गर्नुपर्नेमा जोड दिएका थिए।