सहबाज खान, असोज ८
साउदी अरब अधिराज्यको ९४औँ राष्ट्रिय दिवस मनाइएको छ । सोमबार काठमाडौँमा उक्त दिवस मनाइएको हो । ९४औँ राष्ट्रिय दिवसको अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भव्य स्वागत सहित साउदी अरब अधिराज्यको ९४औँ राष्ट्रिय दिवस हर्षाेउल्लासका साथ मनाइएको छ ।
कार्यक्रममा नेपालका लागि साउदीका राजदूत साद बिन नासिर अबु हैमदले नेपालमा ठुलो आयाेजना जलविद्युत, सिचाइको लागि लगानी गरेको बताएका छन् । उनले साउदी अरबले साउदी कोषमार्फत १५ करोड अमेरिकी डलरभन्दा बढी नेपाल सरकारलाई उपलब्ध गराएको जनाए ।
सन् २०२३ देखि साउदी अरबमा अध्ययनरत नेपाली विद्यार्थीलाई वार्षिक १ सय २० जना छात्रवृत्ति प्रदान गर्दै आएको उनको भनाइ छ । हाल चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेको उनले बताए । नेपाल र साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेकाे उनले बताए । सन् १९७७ मा स्थापना भएदेखि नै दुई देशबीचकाे सम्बन्ध सुमधुर, प्रगाढ रहेको राजदूत अबु हैमदले जिकिर गरे ।
यस्तै राजदूतले राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको नेतृत्वमा दीर्घकालीन विकासकाे बारेमा समेत जानकारी गराएका थिए । उनले पूर्वाधार विकास, दिगो विकास, सूचना र प्रविधिमा साउदी अरेबियाले हासिल गरेको महत्वपूर्ण पक्षको उपलब्धीकाे बारेमा जिकिर गरिएको थियो ।
उनले दीर्घकालीन योजना बनाएर अगाडी बढे चाैतर्फी रुपमा बिकासको लहर चल्ने सम्भावना नेपालमा बढी रहेको बताए । प्राकृतिक रुपमा नेपाल धनी देश भएको बताउँदै दीर्घकालीन योजना निर्माण गरि लगानी गर्न आवश्यक रहेको सुझाव समेत उनले दिए ।
साउदी अरब अधिराज्यको ९४औँ राष्ट्रिय दिवसमा राजनीतिक दलका नेता, पूर्वमन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षाकर्मी, कूटनीतिज्ञ, व्यापारी, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागीता थियो ।