
काठमाडौँ । खराब मौसमको कारण देखाएर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्दै आएका फ्लाई दुबई , थाई एयर एसिया र जजीरा एयरवेजले तत्काल उडान गर्न नसकिने भन्दै वायुसेवा कम्पनीले केही समय उडान स्थगितको पत्र पठाएका छन् । एयरलाइन्सले औपचरिक रुपमा उडान स्थगित गर्नुअघि प्राधिकरणले अनुमति दिनुपर्छ । पछिल्ला केही दिनदेखि बाक्लु हुस्सु लाग्न थालेपछि भैरहवामा अपराह्नसम्म उडान, अवतरण भइरहेको छैन । यसले गर्दा भैरहवा जाने अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा डाइर्भट भइरहेका छन् । प्राधिकरणका अनुसार अहिले भैरहवामा १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको र यो विमान अवतरणका लागि पर्याप्त होइन । एटीआरलगायत ठुला जहाजका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।
भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन) प्रणाली नभएका कारण यो समस्या देखिएको हो । आरएनपीएआर एप्रोच जडान भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटमा पनि जहाज अवतरण गर्न सक्छन् । आरएनपी एआर भू-उपग्रहमा आधारित अवतरण प्रणाली रहेको र आईएलएस उपकरणमा आधारित अवतरण प्रविधि भएकाले आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ । यो प्रणाली कार्यान्वयनमा ल्याउन विमान चालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रक्रिया पूरा गरेपछि ८०० मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान सकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान र अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको छ ।
