
गुल्मीको रेसुङ्गा विमानस्थलमा साढे तीन महिनापछि हवाई सेवा पुनः सञ्चालनमा आएको छ। जहाज मर्मतका कारण गत पुस ४ गतेदेखि अवरुद्ध उडान सोमबार पुनः सुरु भएको हो। नेपाल एयरलाइन्सको जहाज १४ जना यात्रुसहित काठमाडौँबाट रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो भने चार यात्रु लिएर फर्किएको विमानस्थल प्रमुख सुमन थापाले जानकारी दिनुभयो।
विमानस्थलमा आउँदो बिहीबार अर्को उडान हुने तय गरिएको छ। हालका लागि हप्तामा एक दिन मात्र उडान भए पनि चाँडै नै हप्तामा दुई दिन सेवा सञ्चालन गर्ने योजना रहेको थापाले बताउनुभयो। उडान तालिका अनुसार बिहान ६:१५ मा काठमाडौँबाट र ७:15 मा रेसुङ्गाबाट जहाज उड्नेछ।
नेपाल एयरलाइन्सलाई सातामा चार दिनसम्म उडान अनुमति दिइए पनि जहाज अभावका कारण हाललाई सातामा एक दिन मात्र सेवा उपलब्ध गराउन सकिएको छ।

रेसुङ्गा विमानस्थल गुल्मीको सिमीचौरमा निर्माण गरिएको हो। २०७५ जेठ २५ गते तारा एयरको जहाजले पहिलो परीक्षण उडान गरेको थियो। त्यसपछि २०७९ पुस २४ गते तारा एयरकै जहाजले ‘प्रुभिङ फ्लाइट’ गरेको थियो। नेपाल एयरलाइन्सले २०८० वैशाख १५ गते परीक्षण उडान गरेको थियो। काठमाडौँ–सिमीचौर उडान दूरी करिब ५० मिनेटको रहेको छ।
हालको हवाई भाडा दर अनुसार काठमाडौँबाट रेसुङ्गा सात हजार ५०० रूपैयाँ तथा रेसुङ्गाबाट काठमाडौँ सात हजार ३०० रूपैयाँ रहेको नेपाल एयरलाइन्सले जनाएको छ।
