
बझाङ , चैत १८
चैत दशैंको अवसरमा जयपृथ्वी नगरपालिका–२ मा वडा स्तरीय खुला पुरुष/महिला भलिबल तथा देउडा प्रतियोगिता आजदेखि सुरु भएको छ।
युवा तथा खेलकुद व्यवस्थापन समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भयो। आयोजक समितिका अनुसार प्रतियोगिताको उद्देश्य युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्नु हो।

उद्घाटन समारोह युवा तथा खेलकुद व्यवस्थापन समितिका अध्यक्ष सन्तोष खडकाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा जयपृथ्वी नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंह प्रमुख अतिथि रहनुभयो। त्यसैगरी, वडा नम्बर २ का वडा अध्यक्ष कलक बहादुर खडका तथा वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापा विशेष अतिथिका रूपमा सहभागी हुनु भयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी तथा वडा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो। आयोजक समितिका अध्यक्ष खडकाका अनुसार प्रतियोगिताका खेलहरू भोलिदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ।
