
कपिलवस्तुको चन्द्रौटास्थित इलाका प्रशासन कार्यालयले बुधबारदेखि औपचारिक रूपमा राहदानी सेवा सुरु गरेको छ। सेवा शुभारम्भको अवसरमा शिवराज नगरपालिकाका मेयर अजय थापा र प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिल कुमार तामाङले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।
इलाका प्रशासन कार्यालय चन्द्रौटा २०५४ सालमा स्थापना भए पनि यसअघि राहदानी सेवा उपलब्ध थिएन। यसले गर्दा शिवराज, बिजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दालाई राहदानीको लागि जिल्लाको केन्द्र, तौलिहवा पुग्नु पर्ने बाध्यता थियो। अब भने उनीहरूले आफ्नै नजिकको कार्यालयबाट सेवा प्राप्त गर्न पाउने भएपछि उत्साह बढेको छ।
नगरप्रमुख थापाले यस सेवाको सुरुवातका लागि पटक–पटक पहल गरिएको उल्लेख गर्दै यसले नागरिकको समय र खर्च दुवैको बचत गर्ने विश्वास व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी तामाङले नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा मात्र दिइँदै आएको अवस्थामा राहदानी सेवाको खाँचो महसुस भई सेवा विस्तार गरिएको जानकारी दिए।
उक्त सेवा मासिक २५ सयजना सेवाग्राहीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो। साथै, नागरिकताको सिफारिस पनि अब सबै वडा कार्यालयबाट अनलाइनमार्फत गर्न सकिने जानकारी दिइएको छ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले सेवा प्रभावकारी बनाउन कटिबद्ध रहेको जनाउँदै, आठ महिना अघिदेखि सुरु भएको राष्ट्रिय परिचयपत्र सेवाको अनुभवले राहदानी सेवा पनि सहज बनाइने आश्वासन दिए।
पहिलोपटक चन्द्रौटाबाट राहदानी सेवा लिएका विजय सापकोटाले यस नयाँ व्यवस्थाले आफूजस्ता सेवाग्राहीलाई ठूलो राहत मिलेको बताए। “पहिले तौलिहवा जान समय र खर्च दुवै लाग्थ्यो, अब घरमै सेवा पाउँदा धेरै सहज भएको छ,” उनले भने।
सेवा सञ्चालनसँगै स्थानीय समुदायमा उत्साह र आशाको वातावरण देखिएको छ।
