
पाल्पा, बैशाख ९ — लामो समयदेखि जारी शिक्षक आन्दोलनका कारण बन्द रहेका विद्यालयहरू पुनः खोल्न आज पाल्पामा अभिभावकहरू आफैं सडकमा उत्रिएका छन्। आफ्ना सन्तानको शिक्षा अवरुद्ध भएको भन्दै अभिभावकहरूले शान्तिपूर्ण रूपमा विद्यालय खोल्न माग गरेका हुन्।
सोही क्रममा रामपुर नगरपालिका–७ मा रहेको ज्ञानोदय आधारभूत विद्यालय मा पनि पठनपाठन पुनः सुरु गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीका अनुसार, अभिभावकहरूको सक्रिय सहभागिता र दबाबपछि विद्यार्थीहरूको भविष्यप्रति चिन्तित समितिले निर्णय गर्दै आजदेखि विद्यालय सञ्चालनमा ल्याइएको हो।
“विद्यार्थीहरूको पढाइले खतराको संकेत देखाएपछि हामीले अभिभावक, शिक्षक र समुदायसँग छलफल गरी सहमतिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं,” अध्यक्ष पन्थीले जानकारी दिए।
उनले थपे, “शिक्षकहरूको आन्दोलनप्रति हामी सम्मान जनाउँछौं, तर विद्यार्थीहरूको भविष्य पनि जोगाउनुपर्छ भन्ने साझा सोचले हामीलाई पठनपाठन सुरु गर्न बाध्य बनायो।”
अभिभावकहरू पनि आक्रोशित
शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अभिभावकहरूका अनुसार विद्यालय लामो समयदेखि बन्द हुँदा बालबालिकाको अध्ययनमा गम्भीर असर परेको छ। “बालबालिका घरमै थुनिएर बसेका छन्, पढाइ बिग्रँदै गएको छ,” एक अभिभावकले भने, “हामी कुनै दल वा संस्थाको विरोधमा छैनौं, तर बच्चाहरूको भविष्य बचाउन आवाज उठाउनु पर्यो।”

अभिभावकहरूको सक्रियताले स्थानीय तह र विद्यालय प्रशासनमा समेत दबाब सिर्जना गरेको थियो। विद्यालय पुनः सञ्चालनमा आएसँगै अभिभावकहरूले केही राहत महसुस गरेका छन्।
शिक्षक आन्दोलनको पृष्ठभूमि
शिक्षकहरूले विगत केही हप्तादेखि सेवा शर्त तथा पेशागत माग सम्बोधनको लागि आन्दोलन गर्दै आएका छन्। कतिपय विद्यालयमा शिक्षकहरूको पूर्ण उपस्थिति नहुनाले पठनपाठन ठप्प भएको थियो।
हालको परिस्थितिमा पाल्पामा केही अन्य विद्यालयहरू पनि क्रमशः खुल्ने तयारीमा रहेको बुझिएको छ।
स्थानीय सरकार र शिक्षा कार्यालयहरूले विद्यार्थीको शैक्षिक भविष्यलाई ध्यानमा राख्दै विद्यालय सञ्चालनलाई प्राथमिकतामा राख्ने जनाएका छन्।
