
भारत–पाकिस्तानबीच पुनः चर्किएको तनावका कारण सीमावर्ती क्षेत्रका गाउँलेहरू त्रसित छन्। विशेषगरी चेनाब नदीको किनारमा अवस्थित सेन्थ बस्तीका करिब १५०० मानिसहरूले आफ्ना परिवारलाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन्।
गाउँ प्रमुख सुखदेव कुमारका अनुसार अहिलेको परिस्थितिमा दीर्घकालीन योजना बनाउनु असम्भव छ। “यस्ता अवस्थामा कसरी भविष्यको सोच गर्न सकिन्छ? हामी आधारभूत आवश्यकता पूरा गर्ने घर बनाउँछौँ, तर त्यसभन्दा बढी लगानी गर्नु जोखिमपूर्ण हुन्छ,” उनले बताए।
भारतले पाकिस्तानमाथि कश्मीरमा सर्वसाधारणमाथि भएको हालैको आक्रमणको समर्थन गरेको आरोप लगाएको छ, जसपछि दुवै देशबीचको सम्बन्ध फेरि चिसिएको छ। अप्रिल २२ मा पहलगाममा भएको आक्रमणपछि तीन जना शंकास्पद व्यक्तिहरूको खोजीमा भारतीय प्रहरी सक्रिय छ भने संयुक्त राष्ट्रसंघले ती व्यक्तिहरूलाई आतङ्कवादीको सूचीमा राखेको छ।
यसैबीच, पाकिस्तानले भारतको आरोप अस्वीकार गर्दै घटनासँग आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ। तर भारतीय सेनाले शनिबार सीमामा दुबै पक्षबीच गोली हानाहान भएको पुष्टि गरेको छ।

गाउँ प्रमुख कुमारका अनुसार सेन्थ बस्तीका अधिकांश बासिन्दाहरूले सुरक्षित स्थानमा घर बनाई बसाइँ सरेका छन्। “अहिले गाउँमा करिब एक तिहाइ मात्र मानिस बाँकी छन्,” उनले जानकारी दिए।
कश्मीर भारत र पाकिस्तानबीच सन् १९४७ देखि नै विवादित क्षेत्र रहँदै आएको छ। सन् १९९९ मा दुवै देशबीच भएको कारगिल युद्धले समेत यस क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको थियो। अहिले पनि स्थिति निकै संवेदनशील छ।
पहलगाम हमलापछि बालबालिकाहरू समेत त्रासमा छन्। अन्तर्राष्ट्रिय समुदायले भने भारत र पाकिस्तानलाई संयमित रहन र वार्ता मार्फत विवाद समाधान गर्न आह्वान गर्दै आएको छ।
संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ भने छिमेकी राष्ट्र चीनले ‘संयम अपनाउन’ आग्रह गरेको छ। युरोपेली सङ्घले भने पछिल्लो स्थिति ‘चिन्ताजनक’ भएको बताउँदै संयमित समाधानको खाँचो औँल्याएको छ।
