
कपिलवस्तु, बैशाख २०
प्राचीन ऐतिहासिक शहर कपिलवस्तुमा यस वर्षको २५६९औं बुद्धजयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ। बैशाख २६ गतेदेखि ३० गतेसम्म बुद्धको क्रिडास्थल तिलौराकोट लगायत जिल्लाका विभिन्न ठाउँमा कार्यक्रमहरू गरिने भएको हो।
बुद्धजयन्तीको अवसरमा तौलिहवामा सरोकारवालाहरूको बैठक बसेर पाँचदिने कार्यक्रम तय गरिएको लुम्बिनी विकास कोष परिषद सदस्य गोपीकृष्ण शर्माले जानकारी दिए। उनका अनुसार यस वर्षको जयन्तीलाई स्थानीयको व्यापक सहभागितासहित सांस्कृतिक र आध्यात्मिक धुमधाममा मनाइनेछ।
तय गरिएका मुख्य कार्यक्रमहरू:
- बैशाख २६–३० : बुद्ध स्थल सरसफाइ अभियान
- बैशाख २७–३० : दिप प्रज्ज्वलन कार्यक्रम
- बैशाख २७ : रक्तदान कार्यक्रम
- बैशाख २८ : बुद्ध झाँकी प्रदर्शनी
- बैशाख २९ : शान्ति ध्यान यात्रा
- बैशाख ३० : शिशु बुद्ध शोभायात्रा तथा स्टेज कार्यक्रम
शोभायात्रा तौलिहवाको जमुहार पुलबाट सुरु भई प्रशासन चोक हुँदै तिलौराकोटसम्म पुग्नेछ। यात्रा अवधिभर स्थानीयबासीले घरको छतबाट पुष्पवर्षा गर्ने र बुद्ध तथा नेपाली झन्डा राख्ने अभियान समेत सञ्चालन गरिने शर्माले बताए।

बुद्धजयन्तीको सफल आयोजना गर्न शर्माको संयोजकत्वमा २२ सदस्यीय समिति गठन गरिएको छ। स्थानीय उद्योगी, व्यापारी, गैरसरकारी संस्था, पत्रकार, सुरक्षा निकाय लगायत सबै सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गरिने उनले जनाए।
यस वर्ष बुद्धजयन्ती कार्यक्रमका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
कार्यक्रममा बुद्धसम्बन्धी ज्ञाता गुनाखर गैरे, मानव अधिकारकर्मी रबि ठाकुर, उद्योग वाणिज्य संघका अध्यक्ष गायदीन कुर्मी, गैरसरकारी संस्था महासंघका जयप्रकाश पाण्डेय, पत्रकार महासंघका मनोज पौडेल, सुनचाँदी व्यवसायी संघका देबी प्रसाद वर्मालगायतले पनि बुद्धजयन्तीलाई भव्य र सभ्यरूपमा मनाउन स्थानीय सहभागिता अपरिहार्य रहेको धारणा राखेका छन्।
