
कपिलवस्तु — कपिलवस्तु बहुमुखी क्याम्पसमा हुन लागेको सञ्चालक समिति निर्वाचनका लागि सच्चिदानन्द त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन्। त्रिपाठी करिब तीन दशकदेखि शिक्षण पेसामा समर्पित एक अनुभवी शिक्षाविद् हुन्, जसले आफ्नो उम्मेदवारीलाई क्याम्पसको सुधार, व्यवस्थापन र शिक्षाको गुणस्तर अभिवृद्धिसँग जोडेर अघि सारेका छन्।
त्रिपाठीले स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् र शिक्षण नै आफ्नो मूल पेसा बनाएका छन्। उनी एक गैर-राजनीतिक, स्वच्छ छविका समाजसेवी व्यक्तित्वका रूपमा चिनिन्छन्। क्याम्पस व्यवस्थापनमा समेत अनुभव भएका त्रिपाठीले शिक्षा र समाजसेवामा आफूले बटुलेको ज्ञान र अनुभवलाई क्याम्पसको पुनरुत्थानमा प्रयोग गर्ने अठोट व्यक्त गरेका छन्।

उनको योजना अनुसार, क्याम्पसमा व्यावसायिक तथा प्राविधिक शिक्षा सञ्चालन गरिनेछ, जसले स्थानीय युवाहरूलाई रोजगारीमुखी बनाउनेछ। साथै, न्यून वा नाममात्रको शुल्कमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिने बताइएको छ। त्रिपाठीले क्याम्पसका प्राध्यापक, कर्मचारी तथा पदाधिकारीहरूको नियमित मासिक तलब सुनिश्चित गर्ने व्यवस्था गर्ने पनि बताएका छन्।
“क्याम्पसलाई राजनीति मुक्त बनाएर विशुद्ध शिक्षाको थलो बनाउने मेरो लक्ष्य हो,” त्रिपाठीले भने, “शिक्षाको गुणस्तर वृद्धि र क्याम्पसको पुनरुत्थानका लागि म पूर्णतः समर्पित छु।”
