
कपिलवस्तु, लुम्बिनी प्रदेश — शिक्षा तथा मानव स्रोत विकास केन्द्र, युनिसेफ नेपाल, समुन्नत नेपाल (काठमाडौँ) र कालिका सेल्फ रिलायन्स सोसियल डेभलपमेन्ट सेन्टरको संयुक्त टोलीले कपिलवस्तु जिल्लाका दुई सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन तथा अन्तरक्रिया सम्पन्न गरेको छ।
टोलीले तिलौरकोट र हथिहवा सामुदायिक सिकाइ केन्द्रको स्थलगत अवलोकन गर्दै केन्द्रहरूको वर्तमान अवस्था, शिक्षा प्रवाहको गुणस्तर, व्यवस्थापन प्रणाली तथा सिकाइ सम्बन्धी योजना र चुनौतीहरूबारे सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरेको छ।
अनुगमन टोलीमा युनिसेफ नेपालका शिक्षा प्रमुख डा. नेभेन, युनिसेफ भैरहवाबाट रजनी महर्जन र मीन मझकोटी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) का महेन्द्र प्रजुली र वैकुण्ठ आचार्य, समुन्नत नेपालबाट नवराज जोशी र सुग्रीम यादव तथा कालिका संस्थाबाट रमेन्द्र रावल, हरिचन्द्र चौधरी र ममता भट्टराई सहभागी थिए।


छलफलका क्रममा सहभागीहरूले सामुदायिक सिकाइ केन्द्रमार्फत अनौपचारिक तथा एकीकृत शिक्षा प्रणालीलाई प्रवर्धन गर्नुपर्ने, सूचना व्यवस्थापन प्रणालीमा दक्षता अभिवृद्धि गर्नुपर्ने र विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयमा भर्ना गराउने अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, किशोर–किशोरीहरूलाई स्थानीय तहसँग समन्वय गर्दै रोजगारीमैत्री सीपमूलक तालिमसँग जोड्ने कार्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको थियो।
अनुगमन टोलीले यस प्रकारको संयुक्त अनुगमन र छलफलले स्थानीय स्तरमा शिक्षा सुधारका कार्यक्रमहरूलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउने विश्वास व्यक्त गरेको छ।
