
भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरू सवार हेलिकप्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा मृत्यु हुनेमा पाइलट र बच्चासहित पाँच जना रहेका छन्, दैनिक भाष्करको जानकारीअनुसार।
मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेको जानकारी दिएका छन्।
भारतीय मिडियाका अनुसार हेलिकप्टर केदारनाथ मन्दिर दर्शन गरेर गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक अनुमानअनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्छ।

दुर्घटनामा परेको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको रहेको र हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र, र गुजरातका यात्रुहरू रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
दुर्घटनाले तीर्थयात्रामा रहेका मानिसहरूमा त्रास उत्पन्न गराएको छ भने उद्धार कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ।
