कपिलवस्तुमा साना उद्योग र फर्महरूमा बन्द हुने प्रवृत्ति तीव्र

0
Quantam abroad studies

कपिलवस्तु, असार ७ – पछिल्लो एक वर्षमा कपिलवस्तुमा साना उद्योग र व्यवसायिक फर्महरू बन्द हुने दर उच्च देखिएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द गरिएका छन्।

गत वर्ष २०८०/८१ मा पनि यस्तै चित्र देखिएको थियो – २६९ साना उद्योग र १३१ व्यवसायिक फर्म बन्द भएका थिए। यद्यपि बन्द हुने संख्या उल्लेखनीय भए पनि दर्ता हुनेको संख्या अझै बढी रहेको कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिए। “एक वर्षमा ३३३ साना उद्योग र ३७४ व्यवसायिक फर्म थपिएका छन्, जुन लगत कट्टाभन्दा ३०५ ले बढी हो,” उनले बताए।

खनालका अनुसार, कोभिड महामारीपछि साना उद्योग र फर्म सञ्चालनमा थप कठिनाइ देखिएको हो। “आर्थिक मन्दी, निरन्तर घाटा र बजारको अनिश्चितताका कारण व्यवसायहरू टिक्न सकेका छैनन्,” खनालले भने। उनका अनुसार, नवीकरण नगरिएकै कारण धेरै फर्महरू स्वतः बन्द भएका छन्।

विदेश पलायन बढेसँगै युवा व्यवसायीको संलग्नता घटेको र त्यसले पनि उद्योगधन्दामा प्रत्यक्ष असर पारेको देखिएको छ। बन्द हुने साना उद्योगहरूमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक र पर्यटन क्षेत्र प्रमुख छन्। व्यवसायिक फर्महरूमा किराना, हार्डवेयर, कपडा, मदिरा, कस्मेटिक, मोबाइल पसल लगायतको वर्चस्व रहेको छ।

व्यवसायीहरू भन्छन्– “सस्तो भाडा तिर्न पनि नसक्ने अवस्था छ”

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीका अनुसार बाणगंगा नगरपालिका र आसपासका क्षेत्रहरूमा नयाँ उद्योग दर्ता भइरहे पनि टिकाउन सकिने अवस्था छैन। “गजेहडा, बनगाई चोकजस्ता बजार क्षेत्रका धेरै व्यवसायीहरू घाटा सहन नसकी पसल बन्द गरेर विदेशिएका छन्,” उनले भने।

विगतमा ब्यापारिक चहलपहल देखिने बजार आज सुनसान बन्न थालेको क्षेत्रीको भनाइ छ। “बिक्री नभएको, खर्च उठाउन नसकिएको र सरकारको सहयोगको कमीले उद्योगी व्यवसायीलाई निराश बनाएको छ,” उनले जोड दिए।

sahani furniture udyog

त्यस्तै, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले व्यवसायमै टिक्न नसक्ने अवस्था सिर्जना भएकोमा गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “उद्योगमैत्री वातावरण नभएसम्म यो प्रवृत्ति बढ्दै जान्छ।”

केन्द्रीय चेतावनी– “ठोस नीति नआए, ठूलो संख्यामा उद्योग बन्द हुने खतरा”

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले राज्यको उदासीनताको आलोचना गर्दै भने, “सरकारले ठोस कदम चाल्न ढिला गरेमा थप साना उद्योग र फर्महरू बन्द हुने निश्चित छ।”

व्यवसायीहरू अब राज्यको स्पष्ट नीतिगत हस्तक्षेपको प्रतीक्षामा छन् – जहाँ केवल दर्ता नै होइन, दीर्घकालीन सञ्चालनका लागि आवश्यक वातावरण सुनिश्चित गरिने अपेक्षा गरिएको छ।

कपिलवस्तुमा साना उद्योग र फर्महरूको घट्दो संख्या केवल स्थानीय अर्थतन्त्रको संकेत मात्र होइन, समग्र मुलुकको निजी क्षेत्रप्रति सरकारको ध्यानको परीक्षासमेत हो। यो संकटको घडीमा हस्तक्षेप आवश्यक नपरे मुलुकको साना व्यवसाय क्षेत्र थप गहिरो संकटमा फस्न सक्ने चिन्ता बढ्दो छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.