
काठमाडौं – सामाजिक सुरक्षा कोषले अबको चार वर्षभित्र श्रमिक र तिनका परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने तयारी गरेको छ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले औपचारिक क्षेत्रका श्रमिकहरूका लागि स्वास्थ्य सेवा विस्तार भई परिवारका सदस्यलाई समेत सेवा पुर्याउन थालिएको बताए। अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा एक लाखदेखि १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा दिइने जानकारी उनले दिए।

हालसम्म २० हजार ९९१ रोजगारदाता र २३ लाख ७४ हजार ४८६ श्रमिक कोषमा आबद्ध छन्। कोषको रकम रु ८३ अर्ब ६५ करोड पुगेको छ भने विभिन्न योजनाबाट रु १५ अर्ब ७५ करोड भुक्तानी गरिएको छ। सापटी योजनाअन्तर्गत ३४ हजार ९७ श्रमिकले सात अर्ब चार करोड लाभ लिएका छन्।
